पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकिशोर सिंह (पराग)ले वीरगञ्ज महानगरपालिका वडा नं. ३२ अन्तर्गत पर्ने चोर्नीमा रात्री भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् ।
स्थानीय तहमा जनसम्पर्क विस्तार गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो । भेटघाटका क्रममा स्थानीय बासिन्दाहरूले विगतमा पुराना नेताहरूले चुनावका बेला मात्र भोट माग्ने र निर्वाचित भएपछि जनतालाई बेवास्ता गर्ने गरेको गुनासो व्यक्त गरेका थिए । उनीहरूले अब पुरानो प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राख्दै उम्मेदवार सिंहप्रति विश्वास व्यक्त गरे र पूर्ण सहयोग गर्न तयार रहेको बताएका थिए । साथै, स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई पुराना नेताजस्तै नबन्न आग्रह गर्दै जीतको अग्रिम शुभकामना समेत दिएका छन् ।
कार्यक्रममा बोल्दै उम्मेदवार रामकिशोर सिंह (पराग)ले आफू निर्वाचित भएमा सबैभन्दा पहिले आफ्नै निर्वाचन क्षेत्रका स्थानीय बासिन्दा तथा युवाहरूसँग समन्वय गरी सल्लाह–सुझाव संकलन गर्ने विशेष सचिवालय स्थापना गरिने प्रतिबद्धता जनाए। उनले युवाहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज पहुँच हुने वातावरण निर्माण गर्ने तथा ‘युवाको नीति, युवाकै नेतृत्व’ भन्ने अवधारणालाई व्यवहारमा उतार्ने कुरामा विशेष जोड दिए ।
सो अवसरमा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार ई. तेज नारायण यादव, जिल्ला संयोजक रामबाबु प्रसाद यादवलगायत पार्टीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
रात्री भेटघाट कार्यक्रमले चोरनी गाउँमा राजनीतिक उत्साह र नयाँ आशा जगाएको सहभागी स्थानीयवासीहरूले बताएका छन् ।