पर्सा निर्वाचन क्षेत्र नं. ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रामाकान्त चौरसियाले पटेर्वा सुगौली गाउँपालिकाको वडा नम्बर १ र ३ मा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त अभियानमा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । घरदैलो अभियान अन्तर्गत कञ्चनपुर, सोनवर्षा, महिन्दरपुर, मलाहि टोला, बैरिया गदियानी टोल, टाडी, भाठा, बनकटवा, रामपुरलगायतका बस्तीहरूमा उम्मेदवार चौरसिया स्वयं पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए । उनले स्थानीय घर–घरमा पुग्दै जनताको दैनिक जीवनसँग जोडिएका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए ।
भेटघाटका क्रममा उम्मेदवार चौरसियाले रास्वपाको सिद्धान्त, नीति तथा कार्यक्रमबारे जानकारी दिँदै देशमा युवाको भविष्य सुरक्षित गर्न पार्टीले अघि सारेका योजनाहरू स्पष्ट पारेका हुन् । उनले शिक्षा, रोजगारी, सुशासन र स्थानीय स्तरको विकासलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताएका थिए । साथै उनले कृषक, युवा र महिलाका समस्यालाई सदनमार्फत समाधान गर्न पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
स्थानीयवासीहरूले सडक, खानेपानी, रोजगारी, शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित समस्या राख्दै दीर्घकालीन समाधानको अपेक्षा राखेका थिए । रास्वपाको वैकल्पिक राजनीति र परिवर्तनको एजेन्डाप्रति चासो व्यक्त गर्दै उनीहरूले उम्मेदवार चौरसियालाई जिताउन हर सम्भव प्रयास गर्ने प्रतिक्रिया दिएका थिए । घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता, युवा तथा समर्थकहरूको पनि सक्रिय सहभागिता रहेको थियो ।
रास्वपाले पर्सा–३ मा जनसम्पर्क अभियानलाई अझ तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष संवादलाई निरन्तरता दिने जनाएको छ ।