प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा कुनै चुक नहोस् भनेर सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिनुभएको छ ।
महाशिवरात्रि र सेना दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतमा सुरक्षा संयन्त्रहरूबीच भएका त्रुटि र रिक्तता दोहोरिन नदिन सुझाव दिनुभयो ।
प्रधानमन्त्री कार्कीले भन्नुभयो, “यस चुनावलाई सुरक्षित रूपमा सम्पन्न गर्न अघिल्ला चुनावको अनुभव र आउँदो चुनावका विविध आयामको विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गर्दै त्रुटिरहित ढंगले काम गर्नुहोस् ।”
उहाँले भने, नागरिकलाई सुरक्षा प्रत्याभूति दिने र सबै राजनीतिक दलका गतिविधि विना अवरोध सञ्चालन हुने वातावरण सिर्जना गर्न अन्य निकायसँग सहकार्य गर्दै स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिनुभएको छ ।
बैठकमा नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुख तथा पृतनापतिहरूको सहभागिता रहेको थियो । प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गर्दै समग्र सुरक्षा व्यवस्थाको अवस्था र तयारीबारे जानकारी दिनुभयो ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार बैठकमा सहभागीहरूले आफ्ना जिम्मेवारी क्षेत्रको अवस्था, सम्पादन गरेका कार्यहरूको समीक्षा तथा सुझाव प्रस्तुत गरे र समसामयिक विषयमा छलफल भए ।