राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले बुधबार वीरगञ्जमा भव्य रोड शो गरेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मधेस प्रदेशमा मंगलबारदेखि सप्तरीबाट चुनावी प्रचार अभियान सुरु गरेका बालेन बुधबार दिउँसो वीरगञ्ज आइपुगेका हुन् ।
वीरगञ्ज–१५ स्थित प्रतिमा चोकबाट महानगर क्षेत्रमा प्रवेश गरेका बालेनले गाडीमार्फत रोड शो गर्दै भानु चोक, नगवा, इनरुवा, इदगाहा चोक हुँदै छपकैया, वीर्ता, आदर्शनगर, माईस्थान हुँदै घण्टाघर चोकसम्म यात्रा गरेका थिए ।
घण्टाघर चोकमा बालेनलाई हेर्नका लागि हजारौंको संख्यामा जेनजी पुस्ताका युवायुवतीहरू उनी आउनुअघि नै भेला भइसकेका थिए । रोड शोसहित घण्टाघर पुगेका बालेनलाई समर्थकहरूले ‘अबकी बार बालेन सरकार’, ‘जय घण्टी’ लगायतका नारा लगाउँदै स्वागत गरेका थिए ।
यसक्रममा बालेनले गाडीबाटै हात हल्लाउँदै र घण्टी बजाउँदै आफ्ना समर्थकहरूलाई अभिवादन गरेका थिए । रोड शोमा रास्वपाबाट पर्साका चारै निर्वाचन क्षेत्रका उम्मेदवारहरू हरि पन्त, सुशील कानु, रामाकान्त चौरसिया र टेकबहादुर शाक्य एउटै गाडीमा सवार भई सहभागी भएका थिए ।
घण्टाघरबाट बालेनको रोड शो मुर्ली, पावरहाउस चोक र गण्डक चोक हुँदै बाराको जीतपुर सिमरातर्फ प्रस्थान गरेको रास्वपाबाट पर्सा–२ का उम्मेदवार सुशील साह कानुले जानकारी दिए ।