फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा विदेशमा बस्ने नेपालीहरूमा मतदानप्रति चासो बढेको देखिएको छ । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सिटका लागि मतदान हुँदैछ ।
यसपटक विदेशमा बस्ने नेपालीहरूलाई मतदानको अधिकार दिनेबारे छलफल भए पनि प्रयास सफल हुन नसकेपछि धेरै नेपालीहरू स्वदेश फर्किन थालेका छन् । निर्वाचनमा सहभागी हुनका लागि धमाधम नेपाल फर्किने क्रम बढेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ ।
अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार पछिल्ला दिनमा विदेश जानेभन्दा फर्किनेको संख्या बढ्दो छ । ‘फर्किनेहरूको संख्या बढेको छ, तर यसको विस्तृत कारणबारे हामीले विश्लेषण गरेका छैनौं,’ उनले बताए ।
माघ १८ देखि २७ गतेसम्म ५१ हजार ७९ जना स्वदेश फर्किएका छन् भने सोही अवधिमा करिब ५० हजार जना विदेशिएका छन् । यस अवधिमा फर्किनेको संख्या करिब एक हजारले बढी रहेको देखिन्छ । साउदी अरेबियाबाट ४ हजार ७०७ र कतारबाट ५ हजार ५१७ जना नेपाल फर्किएका छन् ।
त्यसैगरी सन् २०२६ जनवरी अर्थात् पुस १७ देखि माघ १७ सम्मको अवधिमा १ लाख ५८ हजार १४६ जना नेपाल फर्किएका छन् भने १ लाख ५७ हजार ६५८ जना विदेशिएका छन् । उक्त अवधिमा साउदी अरेबियाबाट १३ हजार ३३६, कतारबाट १८ हजार र यूएईबाट २६ हजार ४ सय जना नेपाल फर्किएका थिए ।
पछिल्लो पाँच महिनाको तथ्यांकअनुसार कात्तिक १५ देखि मंसिर १५ सम्ममा १ लाख ४९ हजार जना नेपाल फर्किएका थिए भने १ लाख ४४ हजार जना विदेशिएका थिए । सो अवधिमा फर्किनेको संख्या पाँच हजारले बढी देखिएको छ ।
नयाँ वर्षको समयमा विदेशमा लामो बिदा हुने भएकाले पनि धेरै नेपालीहरू स्वदेश फर्किएको अनुमान गरिएको छ । निर्देशक ढकाल भन्छन्, ‘विदेशमा लामो बिदा हुने भएकाले पनि धेरै मानिस फर्किएको हुनसक्छ ।’ तर पछिल्लो समय फर्किनुको मुख्य कारण निर्वाचन नै भएको जानकारहरू बताउँछन् । समाजशास्त्री डा. दिनेश प्रसाईंका अनुसार अन्य ठूला कारण नदेखिएकाले निर्वाचनले नै यो प्रवृत्ति बढाएको हुनसक्छ ।
सन् २०२५ नोभेम्बर (कात्तिक १५ देखि मंसिर १४ सम्म) मा १ लाख ३४ हजार जना नेपाल फर्किएका थिए भने सो महिनामा १ लाख ६० हजार जना विदेशिएका थिए । यस अवधिमा यूएई र साउदी अरेबियाबाट उल्लेखनीय संख्यामा नेपालीहरू नेपाल आएका थिए ।
