पर्सामा दल तथा स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता गराएका १०७ जना उम्मेदवारमध्ये अहिलेसम्म कसैले पनि निर्वाचन प्रयोजनका लागि बैंक खाता सञ्चालन नगरेको पाइएको छ ।
एक जना उम्मेदवारले निर्वाचनमा बढीमा २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था रहेको प्रमुख निर्वाचन अधिकृत गायत्री रेग्मीले जानकारी दिइन् । उनी पर्सा निर्वाचन क्षेत्र नम्बर–१ की निर्वाचन अधिकृतसमेत हुन् ।
पर्साका चारवटा निर्वाचन क्षेत्रमा कुल १०७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । तर, चारवटै क्षेत्रका उम्मेदवारहरूले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न आवश्यक प्रमाणित प्रतिलिपि हालसम्म नपेस गरेको निर्वाचन कार्यालय प्रमुख अनामिका रौनियारले बताइन् ।
निर्वाचन आयोगको नियमअनुसार उम्मेदवारहरूले निर्वाचन कार्यालयबाट आधिकारिक पत्र लिएर आफूले रोजेको बैंक तथा वित्तीय संस्थामा खाता खोल्नुपर्ने र त्यसको जानकारी सम्बन्धित निर्वाचन अधिकृतलाई तत्काल दिनुपर्ने व्यवस्था छ ।
कार्यालय प्रमुख रौनियारका अनुसार निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल तथा उम्मेदवारहरूलाई ‘निर्वाचनमा प्रचारप्रसार गर्न बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ अनुसार खाता खोली कारोबार गर्न आह्वान गरेको छ ।
उक्त कार्यविधिअनुसार निर्वाचन प्रचारप्रसारका क्रममा हुने सम्पूर्ण आम्दानी तथा खर्च बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ । आयोगले कार्यविधि आफ्नो वेबसाइटमा समेत अपलोड गरिसकेको जनाएको छ ।
यस प्रयोजनका लागि इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा ५० बमोजिम निर्वाचन प्रचारप्रसार खर्चलाई बैंकिङ प्रणालीमा आबद्ध गराउन आयोगले सबै उम्मेदवारलाई इमेलमार्फत जानकारी गराइसकेको प्रमुख रौनियारले बताइन् ।
राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारका लागि प्राप्त आर्थिक सहयोग, आम्दानी तथा खर्चको सम्पूर्ण कारोबार बैंक खातामार्फत नै गर्नुपर्ने व्यवस्था रहेको आयोगले पुनः स्पष्ट पारेको छ ।