पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रामाकान्त चौरसियाले सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर–१ का विभिन्न बस्तीहरूमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् ।
प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता देखिएको थियो । घरदैलो अभियान अन्तर्गत सथवल, भथवल, खजुरिया, सखुवनिया, अकवनिया लगायतका टोल–बस्तीमा पुगेर उम्मेदवार चौरसियाले मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए । उनले पार्टीको एजेन्डा, नीति तथा कार्यक्रमबारे जानकारी दिँदै रास्वपाले अघि सारेको सुशासन, पारदर्शिता र युवाकेन्द्रित विकासको अवधारणा स्पष्ट पारेका हुन् ।
भेटघाटका क्रममा स्थानीयवासीहरूले सडक, सिंचाइ, कृषि उत्पादनको उचित मूल्य, शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच लगायतका समस्या उठाएका थिए । कृषकहरूले उत्पादनमा लागत बढ्दै गएको र बजार व्यवस्थापन कमजोर रहेको गुनासो गरेका थिए भने युवाहरूले रोजगारी अभावका कारण वैदेशिक पलायन बढिरहेको विषय उठाएका थिए ।
उम्मेदवार चौरसियाले जनताको गुनासा ध्यानपूर्वक सुन्दै ती समस्यालाई प्राथमिकतामा राखेर समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । उनले निर्वाचित भएपश्चात क्षेत्रको समग्र विकास, युवालाई स्वदेशमै रोजगारी सिर्जना, कृषकका समस्याको समाधान तथा आधारभूत सेवाको सुधारमा विशेष ध्यान दिने बताए । कार्यक्रममा रास्वपाका स्थानीय नेता–कार्यकर्ता, युवा तथा महिला समर्थकहरूको पनि सक्रिय सहभागिता रहेको थियो ।
रास्वपाले पर्सा–३ मा जनसम्पर्क अभियानलाई अझ सशक्त बनाउँदै मतदातासँग प्रत्यक्ष संवादलाई निरन्तरता दिने जनाएको छ ।