पर्सा निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधि तीव्र बन्दै गएको छ ।
नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजाल यतिबेला आक्रामक चुनावी अभियानमा सक्रिय देखिएका छन् । मतदाताको घरदैलोमै पुगेर समर्थन जुटाउने रणनीतिअनुसार रिजालले आफ्नो अभियानलाई तीव्रता दिएका हुन् । शुक्रबार बिहान उनले कालिकामाई गाउँपालिका–२ भेडिहारीमा व्यापक घरदैलो कार्यक्रम सञ्चालन गर्दै प्रत्येक टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए ।
घरदैलोका क्रममा रिजालले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताए । उनले पर्सा–४ को दीर्घकालीन विकासका लागि योजनाबद्ध पहल आवश्यक रहेको उल्लेख गर्दै अधुरा पूर्वाधार निर्माण, सिँचाइ व्यवस्थापन, युवालाई स्वरोजगार तथा सीपमूलक तालिमको व्यवस्था, तथा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले विगतमा घोषणा भएका तर पूरा नभएका योजना, सडक तथा अन्य पूर्वाधारको अभाव, कृषि उत्पादनको बजार समस्या र बढ्दो बेरोजगारीबारे गुनासो राखेका थिए । जवाफमा रिजालले “अबको पाँच वर्ष पर्सा–४ को समग्र विकासका लागि निर्णायक हुने” भन्दै जनताको विश्वासलाई विकासमा रूपान्तरण गर्ने प्रतिबद्धता दोहोर्याए ।
घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । गाउँ–गाउँमा बढ्दो सहभागिताले कांग्रेसको चुनावी अभियान थप सशक्त बन्दै गएको दाबी नेताहरूले गरेका छन् । पर्सा–४ मा विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा चर्किँदै गइरहेका बेला रिजालले जनताको घरआँगनमै पुगेर भरोसा जित्ने रणनीति अपनाएका छन् ।
भेडिहारीबाट सुरु भएको आक्रामक अभियानले क्षेत्रको चुनावी समीकरणमा नयाँ चर्चा सुरु गराएको छ ।