पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तलाई ताजपुरमा स्थानीयवासीले घण्टी चिन्ह बनाएर स्वागत गरेका छन् ।
घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा ताजपुर पुगेका पन्तलाई त्यहाँका विभिन्न चोक–चौतारीमा रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ विभिन्न रङ्ग प्रयोग गरी अंकित गरेर स्वागत गरिएको जनाएकाे छ । घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले आ–आफ्ना टोलमा रचनात्मक ढंगले घण्टी चिन्ह बनाउँदै उत्साहपूर्वक स्वागत गरेका थिए । मतदातासँग प्रत्यक्ष संवादका क्रममा अधिकांश स्थानीयले अब मुलुकमा परिवर्तन निश्चित रहेको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी नै परिवर्तनको संवाहक भएको बताएका थिए । उनीहरूले यसपटक घण्टी चिन्हमा मतदान गरी परिवर्तनको साक्षी बन्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
भेटघाटका क्रममा उम्मेदवार पन्तले रास्वपाको जित नै समग्र मुलुकको जित भएको उल्लेख गर्दै स्वच्छ राजनीति, सुशासन र पारदर्शिताका लागि आफूलाई विजयी गराउन सम्पूर्ण मतदातासँग आग्रह गरे । उनले जनताको अपेक्षाअनुसार काम गर्ने र क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
घरदैलो कार्यक्रममा स्थानीय युवायुवती, महिला तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो ।