आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
शुक्रबार (फागुन १) काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।पार्टीले यसअघि नै माघ १२ गते आफ्नो आदर्श, दृष्टिकोण, राष्ट्रिय मुद्दा तथा मुख्य माग समेटिएको विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको जनाएको छ ।
शुक्रबार सार्वजनिक गरिएको घोषणापत्रमा संघीयता सुदृढीकरण, समावेशी शासन, सामाजिक न्याय, आर्थिक समानता, शिक्षा–स्वास्थ्य सुधार, रोजगारी सिर्जना तथा संविधान संशोधनलगायत विषयलाई प्राथमिकतामा राखिएको बताइएको छ ।जसपा नेपालले मधेस, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम तथा उत्पीडित समुदायका अधिकार सुनिश्चित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने प्रतिबद्धता जनाएको छ ।
पार्टीका अनुसार घोषणापत्रले समावेशी विकास, पहिचानको संरक्षण र अधिकारको प्रत्याभूति गर्ने स्पष्ट कार्ययोजना प्रस्तुत गरेको छ । कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो । जसपा नेपालले घोषणापत्रलाई जनतासामु लैजाने अभियान देशव्यापी रूपमा सञ्चालन गर्ने जनाएको छ ।
जसपा नेपालको चुनावी घोषणापत्र पढ्नुहाेस् ।