पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर–५ झिंगना टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुलाई झिंगना टोलका मतदाताले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता राख्न अनुराेध गरेकाे छ ।
घरदैलो कार्यक्रममा त्यहाँका स्थानीयले छाेराछाेरीलाई शिक्षा दिक्षा सहित सर्वशुल्भ स्वास्थ्य र कृषिमा मल खाद र विउ विजनकाे व्यवस्था गर्न अनुराेध गरेका थिए । उम्मेदवार कानुले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका प्राथमिक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले पचरुखि टोलसहित पर्सागढी क्षेत्रमा अस्पताल तथा स्वास्थ्य सेवा व्यवस्थापन सुधार, खेलकुद पूर्वाधार विकास, कृषकहरूलाई समयमै मल र सिंचाइका लागि पानी उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेर पहल गरिने बताए ।
घरदैलाे कार्यक्रममा स्थानीय बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । घरदैलोका क्रममा स्थानीयवासीहरूले पर्सा २ मा यसपटकको निर्वाचनले समाजमा सकारात्मक परिवर्तन ल्याउने आशा व्यक्त गरेका थिए । स्थानीय बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषकहरूले “यसपालिको मत परिवर्तनका लागि” भन्ने नारासहित उम्मेदवार कानुलाई समर्थन जनाएका थिए ।
त्यसैगरी बेरोजगार युवाहरूलाई स्थानीय स्तरमै पशुपालनसम्बन्धी प्राविधिक सीप तालिम प्रदान गरी रोजगारी सिर्जना गर्ने योजना अघि सार्दै उनले निर्वाचित भएसँगै यी आधारभूत समस्याहरू चरणबद्ध रूपमा समाधान गरिने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा स्थानीयवासीहरूको उत्साहजनक सहभागिताले उम्मेदवार कानुको चुनावी अभियानलाई थप बल मिलेको छ ।