आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’लाई प्रयोग गर्ने हतियारका रूपमा बेतको लौरो उपलब्ध गराइएको छ । ४० दिनको कार्यावधि तोकेर भर्ना गरिएका करिब डेढ लाख निर्वाचन प्रहरीमध्ये प्रत्येकलाई एक–एक वटा बेतको लौरो उपलब्ध गराइएको हो ।
बेत लहरो प्रजातिको वनस्पति हो । काठ प्रजातिअन्तर्गत पर्ने बेतलाई मुलायम र लचकदार वनस्पतिका रूपमा लिने गरिन्छ ।
यसअघि २०७९ सालमा सम्पन्न स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई लौरो खरिदका लागि छुट्टै बजेट व्यवस्था गरिएको थिएन । त्यस समयमा प्रहरीले बाँस तथा अन्य वनस्पतिबाट लौरो बनाएर प्रयोग गरेका थिए । तर यस पटकको निर्वाचनमा भर्ना भएका निर्वाचन प्रहरीका लागि बेतको लौरो खरिद गर्न बजेट छुट्याइएपछि सोहीअनुसार व्यवस्थापन गरिएको नेपाल प्रहरी ले जनाएको छ ।
प्रहरीका अनुसार एउटा बेतको लौरोको औसत मूल्य करिब २०० रुपैयाँ पर्छ। निर्वाचन प्रहरीलाई लौरो खरिदका लागि रकम खातामै उपलब्ध गराइएको छ र तोकिएको मापदण्डअनुसार खरिद गरी प्रयोग गर्न निर्देशन दिइएको छ ।
बेतको लौरो व्यवस्थापनका लागि मात्रै नेपाल सरकार ले ३ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ । निर्वाचन प्रहरीको पोसाक तथा अन्य सुविधासँगै लौरोलाई पनि पारिश्रमिक तथा भत्ता व्यवस्थापनअन्तर्गत समावेश गरिएको जनाइएको छ ।