वीरगञ्ज महानगरपालिका–१३ मुर्लीमा स्थानीयवासीहरूपर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार अनिल रुङ्टा सँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।
शनिबार आयोजित कार्यक्रममा स्थानीयहरूले उम्मेदवार रुङ्टासँग खुलेर संवाद गर्दै अब आशा र भरोसा नै अनिल रूङ्टा भएकाे भन्दै उत्साहपूर्ण समर्थन गरेका छन् । वीरगञ्ज महानगरपालिका १३ मुर्लीका युवाहरूले रुङ्टाको नेतृत्वलाई सकारात्मक परिवर्तनको आधारका रूपमा लिएका छन् । विशेषगरी युवा पुस्तामा देखिएको ऊर्जा र सक्रिय सहभागिताले यस क्षेत्रको विकास र समृद्धिको प्रतीक बन्दै गएको सहभागीहरूले बताएका छन् । युवाहरूले उनलाई आफ्नो आवाज, प्रतिनिधि र भविष्यको नेतृत्वकर्ताका रूपमा स्वीकार गरेका छन् ।
उम्मेदवार रुङ्टाले जनताको विश्वासलाई सबैभन्दा ठूलो शक्ति मान्दै पर्सा जिल्ला क्षेत्र नं. १ को समग्र विकासका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी र सामाजिक सद्भावलाई केन्द्रमा राखेर योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जनतासँगको प्रत्यक्ष संवाद नै आफ्नो राजनीतिक यात्राको आधार भएको उल्लेख गर्दै उनले समृद्ध पर्सा निर्माणका लागि सबैको साथ आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा जेन–जी युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । प्रविधिमैत्री, सचेत र परिवर्तनप्रति उत्साहित युवाहरूले विकास, पारदर्शिता र अवसर सिर्जनामा केन्द्रित नेतृत्वको आवश्यकता औंल्याएका थिए । उनीहरूले रुङ्टालाई नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्न सक्षम उम्मेदवारका रूपमा चित्रित गर्दै आगामी निर्वाचनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रुङ्टाले शिक्षा, स्वास्थ्य सेवा सुधार, सडक तथा पूर्वाधार विस्तार, रोजगारीका नयाँ अवसर सिर्जना र सामाजिक सद्भाव सुदृढीकरणलाई प्राथमिकतामा राख्दै पर्सा–१ लाई देशकै उदाहरणीय निर्वाचन क्षेत्र बनाउने संकल्प दोहोर्याए । उनले जनताले दिएको भरोसाले आफूलाई अझ जिम्मेवार बनाएको उल्लेख गर्दै विकास र समृद्धिको नयाँ उचाइमा पुर्याउने अठोट व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी स्थानीय अगुवा तथा नेता–कार्यकर्ताहरूले आगामी निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।