पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिका–२ स्थित घोडपसरा टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुकाे घरदैलो कार्यक्रम समपन्न भएकाे छ ।
प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीय मतदाताहरूको उल्लेखनीय सहभागिता देखिएको थियो । घरदैलोका क्रममा उम्मेदवार कानुले स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै क्षेत्रका विद्यमान समस्या, आवश्यकता र अपेक्षाहरू सुनेका थिए । उनले शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिलगायतका विषयमा दीर्घकालीन समाधान आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वमा मात्रै जनताको वास्तविक हितमा काम हुन सक्ने विश्वास व्यक्त गरेका थिए ।
उम्मेदवार कानुले शिक्षकहरूको पहुँच र समस्या समाधान, आधारभूत स्वास्थ्य संस्थाको सुदृढीकरण तथा युवाका लागि स्थायी र दिगो रोजगारी सिर्जनालाई आफ्नो प्राथमिकतामा राखिएको बताए । “शिक्षा र स्वास्थ्य बलियो नभएसम्म समाज समृद्ध हुन सक्दैन,” उनले भने, “स्थानीय तहमा गुणस्तरीय सेवा सुनिश्चित गर्न नीतिगत र व्यवहारिक दुवै तहमा पहल गरिनेछ ।”
पर्सागढी नगरपालिका क्षेत्रका नागरिकसँग संवाद गर्दै कानुले विकास, रोजगारी, शिक्षा र कृषिलाई मुख्य एजेन्डाका रूपमा अघि सार्दै आगामी दिनमा जनताको आवश्यकता र चाहनाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । कृषकहरूको हकहितका लागि समयमै मल, सिँचाइ तथा उत्पादनलाई बजारसम्म पुर्याउने व्यवस्थामा पहल गरिने तथा युवालाई स्वरोजगार र उद्यमशीलतामा जोडिने योजनाहरू अघि बढाइने उनको भनाइ थियो ।
घरदैलो कार्यक्रममा सहभागी स्थानीयवासीहरूले मुलुकमा नयाँ राजनीतिक संस्कार र जवाफदेही नेतृत्व आवश्यक भएको उल्लेख गर्दै परिवर्तनमुखी एजेन्डा बोकेको रास्वपाप्रति भरोसा बढ्दै गएको प्रतिक्रिया दिएका थिए । स्थानीय मतदाताहरूले यसपटक एकजुट भएर पार्टीलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उम्मेदवार कानुले समावेशी विकास, सुशासन र अवसर सिर्जनालाई केन्द्रमा राखेको पार्टीलाई हरहालतमा विजयी बनाउन स्थानीय मतदाताहरूलाई आग्रह गरेका छन् ।
यसका साथै जनताको सुझावलाई आफ्नो चुनावी घोषणापत्र र भावी कार्ययोजनामा समेट्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।