पर्सा निर्वाचन क्षेत्र नम्बर–१ जनमत पार्टीका तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१४ पिप्रामा घरदैलो, भेटघाट र प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रममा बोल्दै सरार्फले तराई मधेसको मुख्य आय श्रोत कृषि रहेको उल्लेख गर्दै राज्यले किसानसँग समय–समयमा विभेद गर्दै आएको बताएका छन् । उनले जनमत पार्टी किसानहरूको सम्मान र अधिकारको पक्षमा सदैव तत्पर रहेको बताएका हुन् । उनले किसानलाई आधुनिक प्रविधि र व्यवसायिक दृष्टिले सक्षम बनाई आम्दानीको स्रोत बढाउने योजना जनमत पार्टीसँग मात्र सम्भव रहेको बताए ।
सरार्फले वीरगञ्जस्थित कृषि औजार कारखाना पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै देश र मधेसको निकासका लागि डा. सिके राउत नेतृत्व र जनमत पार्टीको दृष्टिकोण महत्वपूर्ण रहेको औंल्याएका थिए । उनले आगामी निर्वाचनमा हर्न छापमा मतदान गरी पार्टीलाई विजयी बनाउन मतदातालाई अपिल गरेका छन् ।
कार्यक्रममा स्थानीय नेताहरू बिध्याला प्रसाद, रम्भा मिश्रा, समानुपातिक उम्मेदवार बिजय पासवान, डा. मनोज कुमार, सिए देवराज, श्याम शंकर चौरसिया, अनिता रौनियार, सिकेन्द्र पटेल, रोहित पटेल, सत्युग साह, तुल्सि राम, सहनवाज राकि, अजित सिह, मन्जय शर्मा, सुमित सिह, रामबहादुर पासवान लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।
सरार्फले विकास, कृषि आधुनिकीकरण, किसान सशक्तिकरण र मधेसको समग्र उत्थानमा केन्द्रित रहने प्रतिबद्धता जनाएका छन् ।