पूर्व मधेश प्रदेशसभा सदस्य प्रह्लाद गिरी १६ औँ पटक पार्टी परिवर्तन गर्दै पुनः नेकपा एमालेमा फर्किएका छन् ।
पोखरीया क्षेत्रमा आयोजित एक कार्यक्रममा गिरीले पुनः एमाले पार्टीमा प्रवेश गरेको घोषणा गरेका हुन् । गिरीले यसअघि एमाले छोडेर नेपाली कम्यूनिस्ट पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायत अन्य पार्टीमा प्रवेश गरिसकेका थिए । उनको राजनीति यात्रा निकै विविध रहिआएको छ । गिरी तत्कालिन सङ्घीय समाजावादी फोरम नेपालबाट पर्सा निर्वाचन क्षेत्र–३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उक्त निर्वाचनमा उनले नेपाली कांग्रेस पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीलाई झिनो मतान्तरले पराजित गरेका थिए ।
राजनीतिक विश्लेषकहरूले गिरीलाई अवसरवादी र दलबदलुको छवि बनाएको उल्लेख गर्दै मधेश आन्दोलनको समयमा प्रदेशसभामा निर्वाचित भएको बताउँछन् । प्रदेशमा सरकार गठनको बेला उनले मुख्यमन्त्रीको दावी गरे पनि कुनै मन्त्रालय पाउन सकेनन् । त्यसपछि जब जनता समाजवादी पार्टी (जसपा) विभाजन भयो, गिरीले महन्थ ठाकुर नेतृत्वको लोसपा रोजेका थिए ।
उनको राजनीतिक यात्रा निकै विविध रहिआएको छ । गिरी कम्युनिष्ट आन्दोलनबाट राजनीतिमा आएका हुन् र २०५१ मा एमालेबाट संसद्को निर्वाचन लडेका थिए । पराजयपछि उनले २०५८ मा एमाले छोडेर स्व. सलीम अन्सारीको समाजवादी पार्टीमा प्रवेश गरेका थिए । त्यसपछि उनी कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गए र राजतन्त्रको पक्षमा वकालत गरे ।
गिरीले भूमिगत गोइत समूहमा पनि लामो समय सक्रियता देखाए र त्यसपछि संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा स्थापना गरे । मोर्चा पनि लामो समय टिक्न सकेन र नेकपा एमालेका नेताहरुको पहलमा शान्ति वार्तामा फर्किए ।
पछि गिरीले माओवादी केन्द्रसँग पनि समय बिताए, २०७० को संविधानसभा निर्वाचनमा माओवादीबाट लडे तर पराजित भए । २०७४ सम्म एमालेमै रहँदा पनि मधेशी जनताको अधिकार र फोरममा विश्वास राख्दै फेरी सङ्घीय समाजवादी फोरम नेपालमा प्रवेश गरे। त्यसपछिका वर्षहरूमा उनी जसपा र लोसपासँग आबद्ध भए ।
नेकपा माओवादी केन्द्रपछी उनि एमालेमा पुनः प्रवेशले पर्सा जिल्लामा राजनीतिक सरगर्मी बढाउने नेकपा एमालेले अनुमान गरेको छ ।