उज्यालो नेपाल पार्टीका उम्मेदवार रामकिशोर सिंह (पराग) ले पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. ४ बिर्ता टोल र वडा नं. ५ कुम्हालटोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ ।
कार्यक्रमको क्रममा उम्मेदवार सिंहले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, सुझाव र अपेक्षाहरू सुन्नुभयो । उहाँले विगतमा वडा नं. २० बाट निर्वाचित हुँदा प्राप्त अनुभव र जनतासँग नजिकबाट काम गर्दा बटुलेको ज्ञान संसद भवनसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले जमीनी तहमा रहेका जनसमस्याहरूलाई प्राथमिकताका साथ उठान गर्ने र देश विकासका लागि आवश्यक एवं प्रभावकारी कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने योजना प्रस्तुत गर्नुभयो । आफ्नो मुख्य एजेन्डा शिक्षा, स्वास्थ्य र रोजगारी रहेको भन्दै उहाँले स्थानीयवासी र युवाहरूलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने बताउनुभयो । “स्थानीय स्रोत र जनशक्तिको उपयोग गर्दै युवालाई अवसर सिर्जना गर्नु नै समृद्धिको आधार हो,” उहाँले भन्नुभयो ।
घरदैलो कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको थियो । बासिन्दाहरूले उम्मेदवारसँग आफ्ना समस्या र सुझाव राख्दै शिक्षा, स्वास्थ्य, सडक, पानी, बिजुली र रोजगारी सम्बन्धी माग राखेका थिए । सिंहले प्रत्येक वडाका समस्या नजिकबाट बुझ्ने र समाधानका लागि अघि बढ्ने आश्वासन दिनुभयो ।
उज्यालो नेपाल पार्टीले आगामी दिनमा पनि विभिन्न वडामा घरदैलो कार्यक्रम र जनसम्पर्क अभियानलाई निरन्तरता दिने जनाएको छ । पार्टीले यस्तो जनसंपर्कलाई मतदाता माझ आफ्नो नीतिगत एजेन्डा बुझाउने महत्वपूर्ण माध्यमको रूपमा लिइरहेको छ ।