राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले सोमबार वीरगञ्ज महानगरपालिका–२८ अन्तर्गत बगही र इनरवा टोलमा घरदैलो अभियान सञ्चालन गर्दै जनता सङ्ग प्रत्यक्ष संवाद गर्नुभएको छ ।
घरदैलोका क्रममा उम्मेदवार कानुले रास्वपा नेतृत्वमा सरकार बनेपछि दलित समुदाय लक्षित स्वास्थ्य सेवामा सुधार, शिक्षामा सहज पहुँच, र स्थायी रोजगारीको व्यवस्था गर्दै जनताको जीवनस्तर उकास्ने कामलाई प्राथमिकतामा राखिने विश्वास व्यक्त गर्नुभयो। उहाँले विकास, रोजगारी, शिक्षा र कृषिलाई आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पार्दै, रास्वपाले हालै सार्वजनिक गरेको ‘जनतासँगको करार पत्र’ अनुसार निर्वाचित भएपछि पाँच वर्षसम्म निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “जनताको आवश्यकता र चाहनाअनुसार नीति तथा कार्यक्रम निर्माण गरी व्यवहारमै देखिने विकास गर्ने हाम्रो लक्ष्य हो ।” साथै, समावेशी विकास र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक उभिएको रास्वपाले सबै वर्ग, समुदाय र क्षेत्रको हक–हितका लागि काम गर्ने दोहोर्याउनुभयो ।
घरदैलोपछि आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममा उल्लेख्य संख्यामा राजनीतिक ध्रुवीकरण देखिएको छ । विभिन्न राजनीतिक दल परित्याग गर्दै ५८ जना स्थानीय नेता तथा कार्यकर्ताले रास्वपामा प्रवेश गरेका छन् । यसमा नेकपा (एमाले) का दलित नेता शिसम् महारा सहित नेपाली काँग्रेस, जसपा नेपाल र आजपा लगायतका दलका नवप्रवेशीहरू समावेश थिए । उम्मेदवार कानुले उनीहरूलाई अबिर र पार्टीको खादा लगाएर स्वागत गर्नुभयो ।
नवप्रवेशीहरूले पुराना दलहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै परिवर्तन र नयाँ राजनीतिक संस्कारको आवश्यकता महसुस गरी राष्ट्रिय स्वतन्त्र पार्टी रोजेको बताएका छन् । उनीहरूले समावेशी सोच, पारदर्शी राजनीति र जनमुखी एजेन्डा बोकेको रास्वपालाई घण्टी छापमा मतदान गरी विजयी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
बगही र इनरवा टोलमा भएको व्यापक पार्टी प्रवेशलाई स्थानीय स्तरमा रास्वपाप्रति बढ्दो जनसमर्थनको संकेतका रूपमा हेरिएको छ ।