पर्सा जिल्ला क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल रुङटा लाई जेन–जी (Gen-Z) युवाहरूले भव्य समर्थन जनाएका छन् । क्षेत्रका विभिन्न वडाबाट उल्लेखनीय संख्यामा सहभागी युवाहरूले रुङटाको उम्मेदवारीलाई आफ्नो भविष्यसँग जोडिएको निर्णय भन्दै एकजुट समर्थन घोषणा गरेका हुन् ।
भेलालाई सम्बोधन गर्दै उम्मेदवार रुङटाले जेन–जी पुस्ता राष्ट्रको वर्तमान र भविष्य दुवै भएको उल्लेख गरे । युवाको ऊर्जा, सृजनशीलता र प्रविधिमैत्री सोचलाई विकासको मूलधारमा समेट्नुपर्नेमा जोड दिँदै उनले शिक्षा सुधार, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन र डिजिटल अवसर विस्तारका लागि विशेष कार्ययोजना ल्याउने प्रतिबद्धता व्यक्त गरे । पर्सा क्षेत्र नं. १ लाई युवा–मैत्री, अवसरयुक्त र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गरिने उनले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस का युवा नेता शेष हजरा ले रुङटाको जित नै जेन–जी युवाहरूको जित हुने धारणा राखे । युवाको आवाजलाई नीतिनिर्माण तहसम्म पुर्याउन सक्षम नेतृत्व आवश्यक रहेको बताउँदै उनले परिवर्तनको नेतृत्व गर्न रुङटा उपयुक्त उम्मेदवार भएको दाबी गरे ।
भेलामा सहभागी युवाहरूले समृद्धि, पारदर्शिता र अवसरको समान पहुँचलाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताएका छन् । जेन–जी युवाहरूको तर्फबाट बोल्दै सहभागीहरूले सुरक्षित, सम्मानित र अवसरयुक्त भविष्य सुनिश्चित गर्न नीतिगत सुधार अपरिहार्य रहेको औंल्याए । उनीहरूले रुङटाको नेतृत्वमा नयाँ ऊर्जा र नयाँ सोचसहितको राजनीति स्थापित हुने विश्वास व्यक्त गरे ।
युवा नेता शेष हजराको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, नेपाल महिला संघ पर्साकी किरण शर्मा, क्षेत्रीय सभापति अरविन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव लगायत नेता, कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । साथै नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल का प्रतिनिधिहरूको पनि सक्रिय सहभागिता देखिएको थियो ।