पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौ सिवान टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानु को घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो भने युवादेखि जेष्ठ नागरिकसम्मको उपस्थितिले चुनावी माहोल थप उत्साहपूर्ण बनेको थियो ।
घरदैलो कार्यक्रममा ८५ वर्षीय जेष्ठ नागरिक जनक साहले उम्मेदवार कानुलाई विजयको आशीर्वाद दिँदै राजनीतिमा नेतृत्व परिवर्तन अपरिहार्य भएको स्पष्ट सन्देश दिए । जनक साहले भने, “अबको समय परिवर्तनको हो । जेष्ठ नागरिक भत्ता, वृद्ध भत्ता, एकल महिला भत्ता जस्ता सामाजिक सुरक्षा कार्यक्रम पार्टीले होइन, सरकारले दिन्छ । त्यसैले कुनै पार्टीको झुटो आश्वासनमा नपरी सही मतदान गर्नु आवश्यक छ। सही निर्णय भनेको सन्तानको भविष्य सुरक्षित गर्नु हो ।”
उनको स्पष्ट र यथार्थपरक भनाइले घरदैलो कार्यक्रममा सहभागी स्थानीयवासीहरूबीच सकारात्मक सन्देश फैलिएको देखिन्थ्यो । जनक साहले मतदाताहरूलाई सचेत रहन आग्रह गर्दै भावनात्मक होइन, तथ्यमा आधारित मतदान गर्नुपर्ने धारणा व्यक्त गरे ।
उम्मेदवार कानुले घरदैलोका क्रममा स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै रास्वपाको प्राथमिक एजेन्डा प्रस्तुत गरे । उनले भने, “दलित समुदाय लक्षित स्वास्थ्य सेवा सुधार, शिक्षामा समान पहुँच, युवाहरूका लागि स्थायी रोजगारी, र कृषिमा आधारित स्वरोजगार सिर्जना हाम्रो मुख्य प्रतिबद्धता हो । राजनीति भाषणमा होइन, परिणाममा देखिनुपर्छ । रास्वपा नेतृत्वमा आएपछि जनताको जीवनस्तर सुधार नै हाम्रो पहिलो लक्ष्य हुनेछ ।”
कार्यक्रममा स्थानीय समर्थन उल्लेखनीय देखिएको थियो । युवादेखि जेष्ठ नागरिकसम्मले “परिवर्तनका लागि घण्टीमा मत हालौँ” भन्ने नारा लगाउँदै रास्वपाप्रति भरोसा व्यक्त गरेका थिए । धेरै स्थानीयवासीले लामो समयदेखि पुराना राजनीतिक दलबाट अपेक्षित विकास र सुशासन नपाएको गुनासो गर्दै यसपटक नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने धारणा राखेका थिए ।
घरदैलो कार्यक्रमले अलौ सिवान टोलमा रास्वपाप्रति बढ्दो आकर्षण र परिवर्तनको चाहना स्पष्ट देखाएको स्थानीयहरूले बताएका छन् । निर्वाचन नजिकिँदै जाँदा पर्सा–२ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको सन्दर्भमा यस प्रकारका प्रत्यक्ष जनसम्पर्क कार्यक्रमले चुनावी वातावरण थप सशक्त बनेको देखिन्छ ।