पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) ले आज वीरगञ्ज महानगरपालिका वडा नं. ७ अन्तर्गत कुम्हालटोल र रामटोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलोका क्रममा उम्मेदवार सिंहले स्थानीयवासी तथा युवाहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका गुनासा र सुझाव सुनेका थिए । स्थानीयहरूले बस्ती व्यवस्थापन, नाला तथा सडक विकास, शिक्षा र स्वास्थ्य सेवामा देखिएका समस्याबारे ध्यानाकर्षण गराएका थिए । सो अवसरमा युवाहरूले रोजगारी अभावका कारण केही युवा लागुऔषधको चपेटामा परेको विषय उठाएका थिए ।
उम्मेदवार सिंहले समस्या गम्भीर रहेको उल्लेख गर्दै आफू निर्वाचित भए लगत्तै युवाका लागि रोजगारीका अवसर सिर्जना गर्ने, सीपमूलक तालिम सञ्चालन गर्ने तथा स्वरोजगार कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमका क्रममा स्थानीयवासीहरूले उज्यालो नेपाल पार्टी का अध्यक्ष कुलमान घिसिङ जस्तै परिणाममुखी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै “तपाईं पनि त्यस्तै काम गर्नुहोस्, हामी तपाईंको साथमा छौं” भन्ने विश्वास व्यक्त गरेका थिए ।
घरदैलो कार्यक्रममा स्थानीय युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेका थिए ।