नेपाली कांग्रेसका सभापति गगन थापाले ‘टिम नेपाल’ बनाएर पाँच वर्षभित्र कुशासन र गरिबी हटाउने बताएका छन् । बुधबार जनकपुरमा आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
थापाले ‘टिम नेपाल’ अवधारणा एक व्यक्तिले मात्रै सम्भव नहुने उल्लेख गर्दै वडादेखि केन्द्रसम्मका सरकार र सबै राजनीतिक दलको सहकार्य आवश्यक हुने बताए। उनले कांग्रेसले आजका समस्या समाधान गर्दै भोलिको विकासलाई गति दिने दाबी गरे । प्रतिज्ञापत्रमा लेखिएका प्रतिबद्धता सभापतिदेखि क्रियाशील सदस्यसम्म सबैले पालना गर्ने उनले बताए ।
उनले मधेस प्रदेशले शिक्षा, स्वास्थ्य, विज्ञान तथा सूचना प्रविधिमा देशलाई नेतृत्व गर्न सक्ने क्षमता बोकेको उल्लेख गर्दै अब मधेसबाटै परिवर्तन सुरु हुनुपर्ने बताए । मधेसलाई ज्ञानको केन्द्र बनाउने लक्ष्यसहित कांग्रेस मधेस केन्द्रित कार्यक्रम लिएर आएको उनको भनाइ थियो ।
मधेसको शिक्षाले पहाड क्षेत्रलाई समेत सक्षम बनाएको उल्लेख गर्दै उनले अहिले मधेसको शिक्षा, स्वास्थ्य, कृषि र वातावरणीय अवस्था कमजोर बनेको बताए । किसान विशेषगरी उखु किसानको अवस्था सुधार, खानेपानी समस्या समाधान र वातावरण संरक्षणमा कांग्रेसले काम गर्ने उनले प्रतिबद्धता जनाए ।
थापाले मधेसले सिंगो देशलाई आर्थिक रूपमा बलियो बनाउन सक्ने क्षमता राख्ने बताए । साथै विदेशमा रहेका नेपालीको सुरक्षाका लागि आवश्यक स्थानमा दूतावास र कर्मचारी व्यवस्था गरी उनीहरूको हेरचाह गर्ने नीति अघि बढाइने उनले बताए ।