पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उज्यालो नेपाल पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगञ्ज महानगरपालिका–३२ चोरनी गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रमका क्रममा स्थानीयवासी र युवाहरूले विगतका पार्टी र उम्मेदवारहरूले अपेक्षित विकास गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनीहरूले गाउँमा आधारभूत पूर्वाधारको अभाव रहेको गुनासो सिंहसमक्ष राखेका थिए । साथै, पुराना पार्टीका उम्मेदवारलाई बहिष्कार गर्दै यसपटक सक्षम र परिणाममुखी नयाँ उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए ।
स्थानीयहरूले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काम गर्ने व्यक्तित्व भएको उल्लेख गर्दै उम्मेदवार सिंहप्रति विश्वास व्यक्त गरेका थिए ।
सिंहले स्थानीयवासीका समस्या आफू निर्वाचित भए लगत्तै प्राथमिकताका साथ समाधान गर्ने वाचा गरे । उनले गाउँ–गाउँमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राख्ने र स्थानीय कलकारखानामा स्थानीय तथा सक्षम व्यक्तिहरूलाई रोजगारीमा प्राथमिकता दिने बताए ।
सिंहले वीरगञ्ज महानगरपालिका–२० मा निर्वाचित भएर काम गर्दा प्राप्त अनुभवलाई संघीय संसदसम्म पुर्याएर क्षेत्रको विकासका मुद्दाहरू सशक्त रूपमा उठाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
घरदैलो कार्यक्रममा स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई भव्य स्वागत र सम्मान गर्दै आगामी निर्वाचनमा विजयका लागि अग्रिम शुभकामना दिएका थिए । उल्लेख्य जनसहभागिता भएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।