उज्यालो नेपाल पार्टी का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) ले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर–१३ स्थित राधेमाई टोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ ।
कार्यक्रमका क्रममा स्थानीय वासी तथा युवाहरूले उम्मेदवार सिंहलाई फूलमाला लगाई भव्य स्वागत तथा सम्मान गरेका थिए । भेटघाटका क्रममा स्थानीयहरूले विगतमा विभिन्न पार्टी र उम्मेदवारहरूले विकास र रोजगारीका विषयमा केवल आश्वासन मात्रै दिएको तर व्यवहारमा कुनै ठोस काम नभएको भन्दै गुनासो व्यक्त गरेका थिए ।
स्थानीय युवाहरूले चुनाव नजिकिँदा मात्र प्रयोग गर्ने, रोजगारीको वाचा गर्ने र जितिसकेपछि बेवास्ता गर्ने प्रवृत्तिका नेताहरूलाई यस पटक बहिष्कार गर्ने र सक्षम नयाँ उम्मेदवारलाई साथ दिने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा स्थानीयहरूले पार्टी अध्यक्ष कुलमान घिसिङ काम गर्ने व्यक्तित्व भएको उल्लेख गर्दै उम्मेदवार सिंहप्रति समर्थन व्यक्त गरेका थिए ।
उम्मेदवार सिंहले स्थानीयवासीका समस्या आफू निर्वाचित भए लगत्तै प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले गाउँ–गाउँमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकता दिने तथा निर्वाचित भएपछि स्थानीय उद्योग तथा कलकारखानामा स्थानीय र सक्षम व्यक्तिहरूलाई रोजगारीमा प्राथमिकता दिने बताउनुभयो ।
साथै, वीरगञ्ज महानगरपालिका वडा नम्बर–२० मा निर्वाचित भएर काम गर्दा हासिल गरेको अनुभवलाई संघीय संसदसम्म पुर्याई क्षेत्र विकासका मुद्दाहरू सशक्त रूपमा उठाउने उहाँको भनाइ थियो । कार्यक्रममा स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई विजयका लागि अग्रिम शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा उत्साहजनक जनसहभागिता रहेको जनाइएको छ ।