पर्सा जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पिपरा क्षेत्रमा उम्मेदवार अनिल कुमार रुङटालाई स्थानीय बासिन्दाले भव्य स्वागत गरेका छन् । चुनावी अभियानका क्रममा उनको आगमनसँगै क्षेत्रको राजनीतिक माहोल थप उत्साहपूर्ण बनेको बताइएको छ ।
पिपरा वडा नं. १४ का बुथ सभापति बिसेश्वर प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो । वीरगञ्ज महानगरपालिका अन्तर्गत पिपरा क्षेत्रमा पछिल्ला दिनमा चुनावी गतिविधि उल्लेखनीय रूपमा बढेको देखिएको छ ।
घरदैलो अभियानमा सहभागी हुन पुगेका रुङटालाई स्थानीयले फूलमाला, अबिर तथा आत्मीय शुभकामनासहित स्वागत गर्दै समर्थन जनाएका थिए । प्रचार–प्रसार केन्द्र उद्घाटनसँगै उनले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवादलाई तीव्रता दिएका छन् । स्थानीय युवाको सक्रिय सहभागितासहित आयोजित कार्यक्रममा सयौं नागरिकले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा महिला सशक्तिकरणलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै रुङटाले पिपराको समग्र विकासका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै समान अवसर र समावेशी विकासप्रति आफ्नो प्रतिबद्धता दोहोर्याए । सहभागीहरूले “हाम्रो नेता, हाम्रो गौरव” भन्ने नारासहित विकासको यात्रामा सँगै अघि बढ्ने अठोट व्यक्त गरेका छन् ।
स्थानीय नेताहरूका अनुसार गगन थापा को सक्रिय नेतृत्व र स्पष्ट दृष्टिकोणका कारण पार्टीप्रति युवापुस्ताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ । रुङटाले पर्सा क्षेत्र नं. १ का मतदाताबाट अत्यधिक मतसहित विजयी हुने विश्वास व्यक्त गर्दै जनताको साथ, समर्थन र सुझावलाई उच्च सम्मानका साथ आत्मसात् गरी निरन्तर जनसेवामा समर्पित रहने प्रतिबद्धता जनाए ।