पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आकर्षण बढ्दै गएको देखिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा आयोजित कार्यक्रममा वडा नम्बर १० का एमाले एकाइ अध्यक्षसहित युवाहरूको ठूलो समूह रास्वपामा प्रवेश गरेको छ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वडा नम्बर १० का एकाइ अध्यक्ष अशोक शाह कानु, वडा सदस्यका उम्मेदवारहरू शेखर अग्रवाल, रेनु कर्ण र जयकुमारीको नेतृत्वमा युवाहरूको समूह रास्वपामा आबद्ध भएको जनाइएको छ । साथै, वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ र ९ का युवाहरू पनि संगठित रूपमा पार्टी प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले टीका र खादा लगाएर पार्टीमा स्वागत गरे । उनले युवाहरूको सक्रिय सहभागिताले पर्सा–२ मा परिवर्तनको राजनीतिक चेतना थप सशक्त बन्दै गएको उल्लेख गरे ।
यसै अवसरमा भेट्रारान फुटबल क्लबका अध्यक्ष सविन बस्नेतसहितको समूहलाई पनि रास्वपामा स्वागत गरिएको थियो । रास्वपाका युवा नेता लखन कुमार गुप्ताले पछिल्लो समय वीरगञ्जका विभिन्न वडाबाट युवाहरू संगठित रूपमा पार्टीमा प्रवेश गर्ने क्रम तीव्र बन्दै गएको जानकारी दिए । उनका अनुसार पर्सा–२ मा बदलिँदो चुनावी समीकरणले नयाँ राजनीतिक वातावरणको संकेत गरेको छ ।