देशभर फैलिँदै गएको परिवर्तनको बहससँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनआकर्षण तीव्र बन्दै जाँदा पर्सा क्षेत्र नम्बर १ को चुनावी माहोल थप रोचक बनेको छ । विशेषगरी वीरगञ्ज महानगरपालिका–२३ मा आयोजित पार्टी प्रवेश कार्यक्रमले रास्वपाको संगठनात्मक उपस्थिति मात्र होइन, जनसमर्थनको आधार पनि फराकिलो बन्दै गएको संकेत दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का आधा दर्जन स्थानीय पदाधिकारीले पार्टी परित्याग गर्दै रास्वपामा प्रवेश गरेका छन् । वडा नम्बर २३ मा आयोजित कार्यक्रममा माओवादी केन्द्रका इकाइ सदस्य जितेन्द्र महतोसहित सह–सचिव चन्दन पासवान, नगर सदस्य सुनिल कुमार ततवा लगायतका पदाधिकारी रास्वपामा प्रवेश गरेको जनाइएको छ ।
प्रवेश कार्यक्रममा बोल्दै नेताहरूले परम्परागत राजनीतिक अभ्यासप्रति निराशा व्यक्त गर्दै वैकल्पिक राजनीतिक शक्तिलाई सघाउने निर्णय गरेको बताएका थिए ।
यसैबीच, पर्सा–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा रास्वपा पर्सा सभापति हरि पन्तले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् । शनिबार नगवामा पार्टी कार्यालय उद्घाटनसँगै उनले घरदैलो कार्यक्रमलाई आक्रामक रूपमा अघि बढाएका हुन् । नगवामा आयोजित घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति देखिएको थियो ।
टोल–टोलमा पुगेका पन्तले मतदातासँग प्रत्यक्ष संवाद गर्दै सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र जनउत्तरदायी शासन आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पारे । घण्टी चुनाव चिन्हको प्रचारमा जुटेका कार्यकर्ताहरूले घरघर पुगेर समर्थन जुटाएका थिए । कार्यक्रममा स्थानीय महिला तथा पुरुषहरूले फूलमाला र गम्छा लगाएर स्वागत गरेका थिए ।
घरदैलोमा युवाहरूको उत्साह विशेष देखिएको थियो। समर्थकहरूले बालेन शाह र रवि लामिछाने का तस्वीरसहित घण्टी चिन्ह अंकित सामग्री बोकेर नाचगान गर्दै समर्थन जनाएका थिए । “जय घण्टी” र “अबकी बार, वैकल्पिक सरकार” जस्ता नाराले वातावरण उत्साहपूर्ण बनेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले “राजनीति सेवा हो, सत्ता होइन” भन्ने सन्देश दोहोर्याउँदै परम्परागत दलप्रति निराश जनताले अब वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने धारणा राखे । उनले क्षेत्रीय विकासका लागि योजनाबद्ध र परिणाममुखी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउँदै रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सडक–पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार आफ्नो प्राथमिकता रहेको बताए ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले बेरोजगारी, कृषि उत्पादनको बजारीकरण, सडकको अवस्था, स्वास्थ्य सेवा अभाव तथा समग्र आर्थिक–राजनीतिक अस्थिरताबारे प्रश्न उठाएका थिए । जवाफमा पन्तले केन्द्र सरकारसँग प्रत्यक्ष समन्वय गर्दै पर्सा–१ लाई विकासको नयाँ मोडमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।
निर्वाचन नजिकिँदै जाँदा पर्सामा विभिन्न दलका उम्मेदवारहरू घरदैलो, सभा–सम्मेलन तथा संगठन विस्तारमार्फत मतदाता आकर्षित गर्न सक्रिय बनेका छन् । रास्वपाले भने वैकल्पिक राजनीतिक शक्तिको रूपमा जनतामाझ आफ्नो उपस्थिति थप सशक्त बनाउँदै लैजाने रणनीति अघि सारेको जनाएको छ ।