पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल प्रति युवाहरूको आकर्षण बढ्दै गएको छ । चुनावी घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदातासँग भेटघाट गरिरहेका रिजालको समर्थनमा ठोरी गाउँपालिकामा दर्जनौँ युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
आइतबार ठोरी गाउँपालिका वडा नम्बर ३ ब्रम्हनगर नयाँवस्तीका राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) सम्बद्ध युवाहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेसमा प्रवेश गर्नेहरूमा विनोद लामा, सुभाष परियार, रविन मगर, राज आलेमगर, समिप मोक्तान, वकिल थिङ, फुर्वा लामा, रामकुमार विक, वीरमान घलान तथा तत्कालीन नेकपा ( माओवादी केन्द्र )का देव श्रेष्ठ लगायत रहेका छन् । उनीहरूलाई कांग्रेस उम्मेदवार रिजालले अबीर–टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
त्यस अवसरमा पूर्वमन्त्रीसमेत रहेका रिजालले बदलिएको कांग्रेसले अब देश बदल्ने बताए । उनले गगन थापा ले हाँकेको कांग्रेसप्रति देशभर युवाहरूको आकर्षण बढ्दै गएको दाबी गरे ।
कार्यक्रममा मधेस प्रदेशका वनमन्त्री शंकर चौधरी, कांग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, जिल्ला सहसचिव नवीन सिंह तथा युवा नेता जीवनकृष्ण श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।