राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार वीरगञ्ज महानगरपालिका–३ छपकैया टोलमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत आयोजित उक्त कार्यक्रममा विभिन्न दल परित्याग गरी करिब ६० जना नेता–कार्यकर्ता तथा समर्थकहरू रास्वपामा प्रवेश गरेका छन् ।
वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी, नेपाली कांग्रेस तथा अन्य राजनीतिक दल परित्याग गरी स्थानीय कार्यकर्ता तथा समर्थकहरू रास्वपामा आबद्ध भएका हुन् ।
पार्टी प्रवेश गर्ने नवप्रवेशीहरूलाई पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का रास्वपा उम्मेदवार सुशील कुमार कानु ले खादा र अबिर लगाएर स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कानुले निर्वाचन लक्षित एजेन्डाका साथै क्षेत्रमा देखिएका विद्यमान समस्याबारे धारणा राखेका थिए ।
उनले विशेषगरी महिलाहरूको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै घरमै बसेर गर्न सकिने प्राविधिक योग्यतासहितका कृषि तथा पशुपालन तालिम, साथै सिलाइ–कटाइ जस्ता सीपमूलक तालिम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्ता कार्यक्रममार्फत महिलालाई आत्मनिर्भर बनाउँदै पारिवारिक आम्दानी वृद्धि गर्ने लक्ष्य रहेको उनले बताए ।
कार्यक्रममा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि संगठन विस्तार, मतदाता परिचालन तथा चुनावी रणनीतिबारे समेत छलफल गरिएको थियो । साथै, क्षेत्रका स्थानीय बासिन्दाले लामो समयदेखि भोग्दै आएका समस्या समाधानका लागि आफू निर्वाचित भएसँगै प्रभावकारी पहल गर्ने कानुले प्रतिबद्धता जनाए ।