उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ को गहवा टोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ ।
कार्यक्रमका क्रममा स्थानीयवासी तथा युवाहरूले उम्मेदवार सिंहलाई फूलमाला लगाई भव्य स्वागत तथा सम्मान गरेका थिए ।
घरदैलोका क्रममा स्थानीयहरूले विगतका पार्टी तथा उम्मेदवारहरूले विकास र रोजगारीका विषयमा आश्वासन मात्र दिएको तर व्यवहारमा ठोस काम नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे । चुनाव नजिकिँदा युवाहरूलाई प्रयोग गर्ने, रोजगारीको वाचा गर्ने र जितिसकेपछि सम्पर्कविहीन हुने प्रवृत्तिप्रति असहमति जनाउँदै यस पटक सक्षम, इमानदार र परिणाममुखी नयाँ उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
स्थानीयहरूले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काम गर्ने व्यक्तित्व भएको उल्लेख गर्दै उम्मेदवार सिंहप्रति समर्थन जनाएका थिए ।
उम्मेदवार सिंहले आफू निर्वाचित भएलगत्तै स्थानीय समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गाउँ–गाउँमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राख्ने बताउँदै स्थानीय उद्योग तथा कलकारखानामा स्थानीय र सक्षम व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिने वाचा गर्नुभयो ।
साथै, वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा निर्वाचित भएर काम गर्दा हासिल गरेको अनुभव संघीय संसदसम्म पुर्याई क्षेत्रीय विकासका मुद्दा सशक्त रूपमा उठाउने बताउनुभयो । कार्यक्रममा स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई आगामी निर्वाचनमा विजयका लागि अग्रिम शुभकामना दिएका थिए । कार्यक्रममा उत्साहजनक जनसहभागिता रहेको जनाइएको छ ।