नेपाली कांग्रेसका पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङटाको घरदैलो अभियानलाई स्थानीय जनताले भव्य स्वागत गरेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर–३२ चोर्नीमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दाले उत्साहपूर्वक सहभागिता जनाउँदै रुङटालाई फूलमाला, अबिर तथा नारासहित अभिनन्दन गरेका थिए ।
घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रुङटाले क्षेत्रको समग्र विकासलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार र पूर्वाधार विस्तारलाई योजनाबद्ध ढंगले अघि बढाउने बताए ।
कार्यक्रमका क्रममा उनले स्थानीय नागरिकका गुनासा, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुने । “जनताको मत नै मेरो शक्ति हो, क्षेत्रको दिगो विकासका लागि निरन्तर लागिपर्नेछु,” रुङटाले भने ।
यसैबीच प्रचारप्रसार समितिका मधेश प्रदेश सदस्य राहुल गुप्ताले कोनियामा सम्पन्न घरदैलो कार्यक्रम अत्यन्त उत्साहजनक र प्रभावकारी रहेको जानकारी दिए । उनका अनुसार स्थानीय जनताको उल्लेखनीय सहभागिताले आगामी निर्वाचनमा सकारात्मक संकेत दिएको छ ।
कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कोनियामा सम्पन्न घरदैलो अभियानसँगै पर्सा क्षेत्र नम्बर–१ मा चुनावी माहोल थप तातेको देखिएको छ ।