पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ भेडियाही र वडा नम्बर–१६ सिवम टोलमा भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा उम्मेदवार तथा पार्टीका नेता–कार्यकर्ताहरूले घरदैलो गर्दै स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका थिए । उनीहरूले नागरिकका समस्या, गुनासा तथा सुझावहरू सुन्दै आगामी दिनमा समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
घरदैलोका क्रममा टोल–टोलमा महिला टोलीसमेत परिचालन गरिएको थियो । महिला टोलीले घर–घर पुगेर मतदातासँग छलफल गर्दै चुनावी एजेन्डा, विकासका प्राथमिकता र सामाजिक सशक्तीकरणका विषयमा जानकारी गराएको बताइएको छ ।
स्थानीयवासीहरूले विकास, रोजगारी, शिक्षा र स्वास्थ्य सेवामा सुधारको अपेक्षा राख्दै सक्षम नेतृत्वलाई साथ दिने बताएका छन् । कार्यक्रममा उत्साहजनक जनसहभागिता रहेको आयोजकले जनाएको छ । भेडियाही र सिवम टोलमा सम्पन्न कार्यक्रमसँगै पर्सा क्षेत्र नम्बर–१ मा चुनावी गतिविधि थप सक्रिय बनेको देखिएको छ ।