गत स्थानीय तह निर्वाचन २०७९ मा वीरगंज महानगरपालिका वडा नम्बर–१८ को वडाध्यक्ष पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका नरेश प्रसाद यादव नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् ।
उक्त निर्वाचनमा उनले स्थानीय स्तरमा राम्रो लोकप्रियता हासिल गर्दै सम्मानजनक मत प्राप्त गरेका थिए ।
पर्सा निर्वाचन क्षेत्र नं.–१ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले सोमबार वीरगञ्जमा आयोजित एक अनौपचारिक स्वागत कार्यक्रमबीच नरेश यादवलाई पार्टीमा भित्र्याएका हुन् ।
कार्यक्रममा प्रदीप यादवसहित वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, नेता ईश्वरचन्द्र यादवलगायत एमालेका स्थानीय नेताहरूको उपस्थिति रहेको थियो । नवप्रवेशी यादवलाई फूलमाला, टीका र खादा ओढाएर भव्य स्वागत गरिएको थियो ।
नवप्रवेशीलाई स्वागत गर्दै प्रदीप यादवले वीरगञ्ज–१८ अब एमालेको ‘लाल किल्ला’मा परिणत भएको दाबी गरे । “चुनावमा सम्मानजनक मत ल्याउनु भएका नरेश यादवजस्ता इमानदार र लोकप्रिय व्यक्तित्वको पार्टी प्रवेशले हाम्रो सङ्गठन थप मजबुत भएको छ । उहाँको योगदान वडाको विकास, जनताको सेवा र पार्टी विस्तारमा महत्त्वपूर्ण हुनेछ,” उनले भने ।
पार्टी प्रवेशपछि नरेश प्रसाद यादवले आफूलाई नयाँ ऊर्जा प्राप्त भएको बताए । “वीरगञ्जको समग्र विकास र स्थानीय जनताको सेवा अब अझ प्रभावकारी रूपमा गर्न सकिनेछ । एमालेको सिद्धान्त र नीतिसँग म सहमत छु,” उनले प्रतिक्रिया दिए ।
नरेश यादवको प्रवेशसँगै वीरगञ्ज महानगरपालिका–१८ मा एमालेको सङ्गठन थप मजबुत र विस्तारित भएको जनाइएको छ । स्थानीय कार्यकर्ताहरूले यसलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्ने महत्त्वपूर्ण कदमका रूपमा लिएका छन् ।