पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला सभापति एवं पर्सा–१ का प्रतिनिधि सभा उम्मेदवार हरि पन्तले वीरगञ्ज महानगरपालिको नगवा क्षेत्रमा शक्ति प्रदर्शन गरेका छन् ।
मंगलबार आयोजित घरदैलो अभियान, मतदाता भेटघाट तथा शक्ति प्रदर्शन कार्यक्रममा सयौंको संख्यामा स्थानीय बासिन्दा, नेता–कार्यकर्ता तथा युवाहरूको सहभागिता रहेको थियो । नगवाका विभिन्न टोल हुँदै निकालिएको र्यालीमा सहभागीहरूले पार्टीका झण्डा र चुनाव चिन्हसहित नाराबाजी गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार पन्तले पर्सा–१ मा दीर्घकालीन विकासका योजना अघि सार्दै सुशासन, पारदर्शिता र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाएको उल्लेख गर्दै विगतमा अधुरा रहेका योजनाहरूलाई पूर्णता दिने दाबी गरेका थिए ।
उनले “राजनीति परिवर्तनको माध्यम हो, व्यक्तिगत स्वार्थको साधन होइन,” उनले भने, “पर्सा–१ लाई नमुना निर्वाचन क्षेत्र बनाउन हामी प्रतिबद्ध छौं ।”
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले पनि नयाँ नेतृत्वमार्फत विकासको अपेक्षा व्यक्त गरेका थिए । पार्टीका जिल्ला तथा क्षेत्रीय पदाधिकारीहरूले चुनावी अभियानलाई अझ सशक्त बनाउँदै घरदैलो कार्यक्रम निरन्तर जारी रहेको जानकारी दिएका छन् ।
पर्सा–१ मा आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलहरूले आ–आफ्ना कार्यक्रम तीव्र पारेका छन् । निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूबीच प्रतिस्पर्धा समेत चर्किँदै गएको छ ।