नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङटाले वीरगञ्ज महानगरपालिका–१८ अन्तर्गत मनियारी भवानीपुरमा उत्साहपूर्ण घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
बुधबार बिहान आयोजित कार्यक्रममा नेता–कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय सहभागितासहित रुङटा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवादमा जुटेका थिए । निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने उक्त वडामा घरदैलो गर्दै उनले लोकतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन तथा देशको समग्र विकासका लागि कांग्रेस नै सक्षम र प्रतिबद्ध दल रहेको दाबी गरे । “स्थायित्व, सुशासन र समृद्धिका लागि कांग्रेसलाई मत दिएर विजयी गराउन म सम्पूर्ण मतदातासँग आग्रह गर्दछु,” रुङटाले भने ।
उनले युवाहरूको सक्रिय सहभागिता र नवीन सोचसहित अघि बढिरहेको कांग्रेस व्यवहार र विचार दुवै हिसाबले रूपान्तरण भएको पार्टी भएको उल्लेख गरे । “अहिलेको कांग्रेस केवल नेतृत्वका कारण मात्र होइन, नीतिगत स्पष्टता र समावेशी दृष्टिकोणका कारण पनि नयाँ बनेको छ,” उनले थपे ।
रुङटाका अनुसार रूपान्तरित कांग्रेसप्रति देशभर जनविश्वास र समर्थन बढ्दो छ । “जनताको अपेक्षा सम्बोधन गर्न सक्षम, अनुभव र ऊर्जा दुवै भएको दल कांग्रेस हो। हामी विकासलाई केवल नारामा सीमित राख्दैनौं, योजनाबद्ध र परिणाममुखी कार्यमार्फत मूर्त रूप दिन चाहन्छौं,” उनले बताए ।
उनले वर्तमान राजनीतिक चुनौतीबाट मुलुकलाई निकास दिन कांग्रेसको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै समावेशी विकास, जनअधिकारको संरक्षण, आर्थिक सबलीकरण र दीगो राजनीतिक स्थायित्व कांग्रेसकै नेतृत्वमा सम्भव हुने दाबी गरे ।
घरदैलो कार्यक्रममा स्थानीयवासीले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार सुधारका विषयमा आफ्ना अपेक्षा राखेका थिए । रुङटाले ती मागप्रति प्रतिबद्धता जनाउँदै निर्वाचनपछि पनि जनतासँग निरन्तर सम्पर्कमा रहने विश्वास दिलाए ।