राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले बुधबार वीरगञ्ज महानगरपालिका–६ माइस्थान तथा वडा नं. ९ घण्टाघर–पानमण्डी क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका छन् ।
विभिन्न टोलमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले औद्योगिक तथा व्यापारिक सहर वीरगञ्जलाई कुशासनमुक्त बनाई व्यवसायमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए । उनले मतदातालाई रास्वपाको चुनाव चिह्न ‘घण्टी’मा मतदान गर्न आग्रह गरेका थिए । कानुले विगत चार दशकदेखि चल्दै आएको राजनीतिक अभ्यासले जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन नसकेको टिप्पणी गर्दै समृद्ध नेपाल निर्माणका लागि नयाँ राजनीतिक संस्कार आवश्यक रहेको बताएका थिए ।
“पर्सा देशकै महत्त्वपूर्ण जिल्ला हो, तर यहाँबाट निर्वाचित सांसद र मन्त्रीहरूको बेवास्ताका कारण जिल्लाको विकास अपेक्षाकृत हुन सकेन,” उनले भने, “व्यापार–व्यवसाय, पूर्वाधार तथा सडकको अवस्था जीर्ण छ । अब प्राथमिकताका साथ सुधार गर्नुपर्छ ।” त्याे सुधारका लागी बालेनकाे सरकार अपरिहार्य रहेकाे उनले बताएका थिए ।
उनले निर्वाचित भएमा संघीय, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी योजनाबद्ध विकास अघि बढाइने बताएका थिए । उनले पर्साको औद्योगिक सम्भावनालाई मध्यनजर गर्दै ठूला विकास आयोजना अघि सार्ने बताएका थिए ।
घरदैलो अभियानमा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको र मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको रास्वापाले जनाएको छ ।