नेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवलाई बुधबार बिहान वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरमा समर्थक र मतदाताले भव्य स्वागत गरेका छन् ।
जगरनाथपुरमा एमाले उम्मेदवार यादवलाई अबीर–टीका र गम्छा लगाएर स्वागत गरिएको थियो। स्थानीय समर्थक र मतदाताहरू उनको साथमा घरदैलोमा सहभागी हुँदै जितका लागि नाराबाजीसमेत गरेका थिए । घरदैलोका क्रममा मतदातासँग संवाद गर्दै पूर्वमन्त्रीसमेत रहेका यादवले आफ्नो अघिल्ला दुई संसदीय कार्यकालमा क्षेत्रमा गरेका कामको मूल्यांकन गरेर मतदान गर्न आग्रह गरे ।
“१० वर्षअघि पर्सा–१ को अवस्था सम्झनुहोस् । सडक, विद्यालय, विवाह भवन, खेलमैदान, मसान घाट, मन्दिर र मस्जिदहरूको अवस्था कस्तो थियो? म निर्वाचित भएपछि भएका विकासहरू तपाईँहरूले आफैँ देख्न सक्नुहुन्छ,” उनले भने । यादवले आफू क्षेत्रको हरेक टोल र समस्यासँग परिचित उम्मेदवार भएको दाबी गर्दै भने, “मलाई यस क्षेत्रको प्रत्येक टोल, समस्या र समाधानबारे जानकारी छ। अन्य उम्मेदवारहरूलाई यहाँका टोलहरूको नामसमेत थाहा नहुन सक्छ ।”
उनले एमालेको राष्ट्रियता सुदृढ गर्ने, आर्थिक समृद्धि ल्याउने तथा समाजवाद उन्मुख विकासको एजेन्डालाई आफ्नो व्यक्तिगत प्रतिबद्धताका रूपमा अघि बढाउने बताए ।
चुनावी मौसममा मात्र मत माग्न आउने उम्मेदवारप्रति सचेत रहन आग्रह गर्दै उनले भने, “पाँच वर्षमा एक पटक मात्र मत माग्न आउनेहरूले क्षेत्रको दीगो विकास गर्न सक्दैनन् । निर्वाचित भएपछि पनि जनताको घरदैलोमा नआउनेहरूलाई पहिचान गर्नुहोस्। म सधैँ जनताको सुख–दुःखमा साथ रहनेछु ।”
यादवले गरिबी निवारण, रोजगारी सिर्जना तथा सांस्कृतिक संरक्षणलाई एमालेको मुख्य एजेन्डा रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।