आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रौतहट जिल्लाभर मदिरा बिक्री–वितरणमा पूर्ण रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले एक जरुरी सूचना जारी गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न उक्त निर्णय गरिएको जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै फागुन १८ गतेदेखि निर्वाचन प्रक्रिया सम्पन्न नभएसम्म मदिरा बिक्री–वितरणमा निषेध गर्ने निर्णय गरिएको हो ।
प्रशासनले सार्वजनिक शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले यो कदम चालिएको स्पष्ट पारेको छ । साथै होटल व्यवसायी, मदिरा व्यवसायी, राजनीतिक दल, नागरिक समाज र आम सर्वसाधारणलाई निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरिएको छ ।
निर्वाचन अवधिमा मदिरा बिक्री–वितरण गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।