उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) ले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ को बेलवा गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ ।
कार्यक्रममा स्थानीयवासीहरूले फूलमाला र खादा लगाएर उम्मेदवार सिंहलाई भव्य स्वागत तथा सम्मान व्यक्त गरे । कार्यक्रममा युवाहरू र स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो ।
भेटघाटका क्रममा स्थानीयवासीहरूले विगतका दल र नेताहरूले चुनावको समयमा मात्र आश्वासन दिएको तर विकास र रोजगारी सिर्जनामा ठोस काम नगरेको गुनासो व्यक्त गरे । उनीहरूले अब युवाहरूलाई प्रयोग गर्ने, चुनाव नजिकिँदा रोजगारीको आश्वासन दिने तर जितेपछि जनतासँग सम्पर्कविहीन हुने नेताहरूलाई बहिष्कार गर्ने र सक्षम, नयाँ उम्मेदवारलाई समर्थन गर्ने इच्छा व्यक्त गरे ।
स्थानीयहरूले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ लाई काम गर्ने नेतृत्वको रूपमा प्रशंसा गर्दै उम्मेदवार सिंहप्रति आफ्नो समर्थन जनाए ।
उम्मेदवार सिंहले स्थानीयवासीहरूको समस्या निर्वाचित भएलगत्तै समाधान गर्ने प्रतिबद्धता जनाउँदै, गाउँ–गाउँमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्ने योजना सुनाए। साथै, स्थानीय स्तरमै कलकारखाना स्थापना गरी सक्षम युवाहरूलाई रोजगारीका अवसर सिर्जना गर्ने योजना रहेको जानकारी दिनुभयो ।
वीरगञ्ज वडा नम्बर २० बाट निर्वाचित भएको अनुभवलाई संघीय संसदसम्म पुर्याई क्षेत्रको विकासका लागि प्रभावकारी आवाज उठाउने उहाँको प्रतिबद्धता थियो ।
कार्यक्रमको अन्त्यमा स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई विजयको अग्रिम शुभकामना दिँदै पूर्ण समर्थन रहने विश्वास व्यक्त गरे