गगनकुमार थापा ले मुलुकमा दुई प्रकारका अतिवादी सोच देखापरेको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेस का सभापति थापाले आज सुर्खेत मा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै केपी शर्मा ओली र बालेन्द्र शाह लाई लक्षित गर्दै फरक–फरक अतिवादी प्रवृत्ति देखिएको आरोप लगाए ।
सम्बोधनका क्रममा उनले भदौ अन्तिम साता भएको ‘जेन–जी’ आन्दोलनको प्रसङ्ग उल्लेख गर्दै दुई नेताले भिन्न शैलीमा अतिवादी चरित्र प्रदर्शन गरेको बताए । उनका अनुसार एक प्रवृत्तिले भदौ २३ र २४ गतेको घटनालाई अस्वीकार गर्दै त्यसअघिसम्म देश पूर्ण रूपमा ठीकठाक रहेको दाबी गर्ने गरेको छ भने अर्को प्रवृत्तिले ती घटनामा मौन बसेर आगोमा पेट्रोल थप्ने काम गरेको आरोप लगाए ।
थापाले भने, “यो देशमा अब कुनै मुकुण्डोधारीले नकाब लगाएर सिंहदरबार जलाउन पाउनु हुँदैन । यस्तो अवस्था निर्माण गर्नुपर्नेछ। त्यसका लागि हामीले भदौ २३ र २४ का घटनालाई गम्भीर रूपमा विश्लेषण गर्नुपर्छ । एउटा प्रवृत्ति छ, जसले ती घटनालाई इन्कार गर्छ र भन्छ—२३ गतेअघि देश ठिकठाक थियो, सबैले दुधभात खाएका थिए, केही बिग्रेको थिएन। अर्को प्रवृत्ति छ, जसले खुलेर बोल्दैन तर २३ र २४ गते बलेको आगोमा पेट्रोल थपेर आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्छ। यी दुवै सोच अतिवादी सोच हुन् ।”
उनले कांग्रेसले सधैं मध्यमार्गी, लोकतान्त्रिक र जिम्मेवार राजनीति अपनाउने स्पष्ट पार्दै युवाहरूको भावना बुझेर समाधान खोज्नुपर्नेमा जोड दिए । देशलाई अस्थिरता र उग्रवादतर्फ धकेल्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने उनको भनाइ थियो ।
थापाले लोकतान्त्रिक मूल्य, विधिको शासन र संवादमार्फत समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याउँदै कांग्रेस जिम्मेवार राजनीतिक शक्ति भएकाले चरमपन्थी सोचको विरोध गर्दै अघि बढ्ने बताए ।