नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल कुमार रुंगटाले वीरगञ्ज महानगरपालिका–१३ स्थित आफ्नो सम्पर्क कार्यालयमा आयोजित विशेष कार्यक्रमबीच आगामी निर्वाचनका लागि चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् ।
प्रतिज्ञापत्र सार्वजनिक गर्दै नेता रुंगटाले आफ्नो राजनीतिक तथा व्यावसायिक निष्ठामाथि प्रहार गर्नेहरूलाई कडा जवाफ दिँदै आफू सधैं इमान्दारिताको पक्षमा रहेको स्पष्ट पारेका थिए । उनले रोजीरोटीका लागि कानुनसम्मत व्यवसाय गर्दै आएको उल्लेख गर्दै अहिलेसम्म कसैलाई नठगेको र नधम्क्याएको दाबी गरेका थिए ।
“काम गरेर खानु ठीक कि ठगी गरेर ?” भन्ने प्रश्न उठाउँदै उनले आफ्नो व्यापारिक कारोबार पूर्ण रूपमा पारदर्शी र कानुनी प्रक्रियाअनुसार सञ्चालन भइरहेको बताए । वि.सं. २०४४ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेको स्मरण गर्दै उनले व्यापारमा आउनुअघि नै सक्रिय राजनीतिमा लागेको उल्लेख गरे । राजनीतिक पृष्ठभूमि नभएका र विगतमा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूले आफूलाई राजनीतिकर्मीका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिप्रति उनले आपत्ति जनाए ।
आफू समाजसेवी र समाजवादी सोच बोकेको व्यक्तित्व भएको बताउँदै रुंगटाले व्यक्तिगत स्वार्थका लागि अरूलाई दुःख दिने स्वभाव नरहेको जिकिर गरे । पछिल्लो समय सिरिसिया नदी प्रदूषणका विषयमा आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै उनले सतही आरोपले गम्भीर समस्याको समाधान नहुने बताए । आफ्नो उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन नगरी नदीमा नपठाइने दाबी गर्दै उनले इच्छुक जोसुकैलाई स्थलगत अवलोकन गर्न चुनौती दिए ।
यसैगरी, उद्योगमा भारतीय कामदार प्रयोग गरिएको भन्ने आरोपलाई उनले निराधार भएको बताए । उद्योगमा कार्यरत ९५ प्रतिशतभन्दा बढी जनशक्ति नेपाली नै रहेको उल्लेख गर्दै दक्ष कामदार नेपालमै उपलब्ध भएकाले विदेशी कामदार राख्ने आवश्यकता नरहेको स्पष्ट पारे । भारतीय कामदार राख्दा कानुनी जटिलता तथा बढी पारिश्रमिक तिर्नुपर्ने अवस्था आउने उनले बताए ।
विरोधीहरूले ठोस मुद्दा नभेटेपछि भ्रामक हल्ला फैलाएको आरोप लगाउँदै रुंगटाले मतदातालाई तथ्य र वास्तविकताका आधारमा निर्णय लिन तथा विकास र स्वच्छ राजनीतिको पक्षमा उभिन आग्रह गरे ।