पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा आगामी प्रतिनिधिसभा निर्वाचनसँगै चुनावी सरगर्मी तीव्र बन्दै गएको छ ।
यसैक्रममा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय सदस्य तथा उद्योगपति अशोक कुमार टेमानी उम्मेदवारका रूपमा मतदातामाझ प्रस्तुत भएका छन् । उद्योग, व्यापार र सामाजिक सेवामा लामो अनुभव बोकेका टेमानी यसपटक विकास र समृद्धिको एजेण्डासहित चुनावी मैदानमा उत्रिएका छन् ।
उद्योग तथा व्यवसायमा तीन दशकभन्दा बढी अनुभव
वीरगञ्ज निवासी टेमानी करिब ३५ वर्षभन्दा बढी समयदेखि उद्योग, व्यापार, आयात–निर्यात, अन्तर्राष्ट्रिय व्यवसाय तथा लजिस्टिक्स क्षेत्रमा सक्रिय छन् । निजी क्षेत्रमार्फत आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनमा उनको भूमिका उल्लेखनीय मानिन्छ । मधेश प्रदेशको आर्थिक केन्द्रका रूपमा परिचित वीरगञ्ज को औद्योगिक वातावरण सुदृढ बनाउन उनले खेलेको भूमिकालाई व्यवसायी समुदायले सकारात्मक रूपमा लिने गरेका छन् ।
अन्तर्राष्ट्रिय शिक्षा र अनुभव
टेमानीले Harvard University (अमेरिका) मा नेतृत्व तथा सार्वजनिक नीति सम्बन्धी कार्यकारी शिक्षा हासिल गरेका छन् । अमेरिका, जापान, डेनमार्कलगायतका देशहरूमा व्यवसाय व्यवस्थापन, कर्पोरेट सुशासन र स्वच्छ उत्पादन सम्बन्धी तालिम लिएका उनले अन्तर्राष्ट्रिय अभ्यासलाई स्थानीय सन्दर्भमा लागू गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
अमेरिका, चीन, भारत, जापान, सिंगापुर, थाइल्याण्ड र फिलिपिन्सलगायत मुलुकहरूसँग व्यापारिक सम्बन्ध विस्तारमा उनले नेपालको प्रतिनिधित्व गर्दै योगदान पुर्याएको बताइन्छ ।
संस्थागत नेतृत्वमा सक्रियता
हाल उनी नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष तथा केन्द्रीय कार्यकारी बोर्ड सदस्य छन् । यसअघि वीरगञ्ज उद्योग वाणिज्य संघ का अध्यक्षसमेत रहिसकेका टेमानीले निजी क्षेत्रको हकहित र औद्योगिक वातावरण सुधारका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन् ।
त्यसैगरी, उनी नेपाल–भारत सामाजिक आर्थिक फोरम का अध्यक्षसमेत हुन्, जसले सीमा क्षेत्रको व्यापार सहजीकरण र आर्थिक सहकार्यलाई प्राथमिकता दिँदै आएको छ ।
सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान
टेमानी नेपाल रेडक्रस सोसाइटी तथा नेपाल नेत्र ज्योति संघ का आजीवन सदस्य हुन् । उनी लायन्स क्लब वीरगञ्ज आदर्शनगरका पूर्व अध्यक्ष तथा जिल्ला कराँते संघ पर्साका संस्थापक अध्यक्षसमेत रहेका छन् ।
शैक्षिक क्षेत्रमा पनि उनको सक्रियता देखिन्छ । उनी मधेश विश्वविद्यालय र हरि खेतान बहुमुखी क्याम्पस का सिनेट सदस्य हुन् ।
मुख्य एजेण्डा : उद्योग, रोजगारी र सुशासन
राजनीतिक रूपमा जसपाका केन्द्रीय सदस्य रहेका टेमानी निजी क्षेत्रको अनुभवलाई नीति निर्माण तहमा पुर्याउने उद्देश्यसहित उम्मेदवार बनेका हुन् । ‘उद्योगमैत्री नीति, रोजगारी सिर्जना र पारदर्शी शासन’ आफ्नो मुख्य एजेण्डा रहेको उनले बताएका छन् ।
सीमा नाकाको व्यवस्थित सञ्चालन, औद्योगिक करिडोर विस्तार, साना तथा मध्यम उद्यमलाई प्रोत्साहन, युवा उद्यमशीलता विकास तथा प्राविधिक शिक्षामा लगानी वृद्धि आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।
पर्सा क्षेत्र नं. २ मा यसपटक विकास, सुशासन र आर्थिक एजेण्डालाई केन्द्रमा राखेर प्रतिस्पर्धा हुने संकेत देखिएको छ । उद्योग र सामाजिक सेवाको लामो अनुभवसहित उम्मेदवारी दिएका अशोक कुमार टेमानीलाई मतदाताले कत्तिको विश्वास गर्छन् भन्ने विषयले आगामी निर्वाचनको परिणाम तय गर्नेछ ।