पर्सा क्षेत्र नं. २ अन्तर्गत पर्ने पर्सागढी नगरपालिकामा यतिबेला राजनीतिक तरंग चर्किएको छ ।
स्थानीय स्तरमा सक्रिय सुरज कुमार मानन्धरले भाेट दिलाउने ठेक्कादेखी मतदातामाझ भ्रामक सूचना फैलाएको आरोप लागेपछि चुनावी माहोल थप तातिएको हो । यसअघि जनता समाजवादी पार्टी, नेपाल (जसपा) मा आबद्ध रहेका मानन्धरले हालै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी परिवर्तन गरेलगत्तै उनले “कांग्रेस र जसपा एकीकरण भइसकेको” भन्ने सन्देश मतदातामाझ फैलाइरहेको आरोप जसपाका नेताहरूले लगाएका छन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा जसपाबाट पर्सागढी नगरपालिकाको प्रमुख पदका उम्मेदवार बनेका मानन्धर पराजित भएका थिए । त्यसयता पनि उनी पार्टी गतिविधिमा सक्रिय देखिँदै आएका थिए । केही समयअघि मात्र पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीसँग घरदैलो कार्यक्रममा सहभागी भएका मानन्धरले एकाएक पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेपछि राजनीतिक वृत्तमा आश्चर्य व्यक्त गरिएको छ ।
जसपा सम्बद्ध नेताहरूका अनुसार मानन्धरले व्यक्तिगत स्वार्थ पूरा नभएपछि पार्टी छाडेका हुन् । “पार्टी परित्याग गर्नु व्यक्तिगत अधिकार हो, एक जसपा नेताले भने मतदातालाई भ्रममा पार्नु स्वीकार्य हुँदैन,” । निर्वाचन नजिकिँदै गर्दा यस्तो सूचना फैलिनु लोकतान्त्रिक अभ्यासका लागि घातक हुने स्थानीय विश्लेषकहरूको भनाइ छ । उनीहरूका अनुसार राजनीतिक प्रतिस्पर्धा विचार, कार्यक्रम र एजेण्डामा आधारित हुनुपर्छ, न कि भ्रम र प्रचारबाजीमा ।
रोचक पक्ष के छ भने मानन्धरको सामाजिक सञ्जाल प्रोफाइलमा अहिले पनि आफूलाई जसपाका नेता तथा पर्सागढी नगरपालिकाको पूर्व प्रमुख प्रत्यासीका रूपमा उल्लेख गरिएको राखिएको छ । यसले मतदातामा थप अन्योल सिर्जना गरेको स्थानीय बासिन्दाहरूको भनाइ छ । पर्सागढीका केही मतदाताले प्रतिक्रिया दिँदै निर्वाचनको समयमा भ्रम फैलाउनु राम्रो संकेत नभएको बताएका छन् । उनीहरूले मानन्धरलाई ‘दलबदलुवा नेता’ भन्दै आलोचना गरेका छन् । यद्यपि, मानन्धर पक्षबाट यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।
पर्सा क्षेत्र नं. २ मा दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला यस्तो विवादले चुनावी समीकरणमा नयाँ बहस सुरु गरिदिएको छ । यसैबीच, निर्वाचन आयोग, नेपा ले मतदातालाई भ्रममा पार्ने गतिविधि नगर्न दल तथा उम्मेदवारहरूलाई सचेत गराउँदै आएको छ । आयोगले निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण निर्वाचनका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ ।
यसक्षेत्रमा जसपाबाट अशाेक कुमार टेमानी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशिल कुमार कानु, एमालेबाट रिमा कुमारी यादव, नेपाली कांग्रेसबाट अजय चाैरसिया लगायत उम्मेदवार छन् ।