निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार उक्त प्रस्ताव कार्यान्वयनमा ल्याउन निर्देशन दिएको जनाएको छ ।
सुरक्षाको समग्र अवस्थाको समीक्षा, वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन र सिफारिसका आधारमा आयोगले गृह मन्त्रालयलाई आवश्यक निर्देशन दिएको हो । आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयमार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई निर्देशन जारी गरेको जनाएको छ ।
जिल्ला आचारसंहिता अनुगमन समितिलाई तोकिएका व्यक्ति तथा संयन्त्र परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ बमोजिम निषेधित कार्य हुन नदिन तथा उल्लंघन भएमा प्रचलित कानुनअनुसार तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउन निर्देश गरिएको छ ।
सवारी सञ्चालनमा आंशिक प्रतिबन्ध
आयोगका अनुसार मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन भने निर्वाध रूपमा सञ्चालन गर्न पाइनेछ । एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मतका सवारी सञ्चालनमा रोक लाग्ने छैन ।
यस्तै, दूरसञ्चार सेवा मर्मतका सवारी, कूटनीतिक नियोगका सवारी तथा आयोगबाट पास प्राप्त सवारीसाधन पनि सञ्चालन गर्न अनुमति दिइनेछ ।
तर, सार्वजनिक तथा निजी सवारीसाधन भने फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म सञ्चालनमा रोक लगाइने निर्णय भएको आयोगले जनाएको छ ।
हवाई उडान यथावत
मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने यथावत सञ्चालन हुनेछन् । टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर वा बसोबास गर्ने होटलसम्म आवतजावतका लागि सहज व्यवस्था मिलाइने आयोगले जनाएको छ ।
होटलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी सवारी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारी प्रयोग गर्न दिनेगरी आवश्यक व्यवस्था मिलाइएको आयोगले स्पष्ट पारेको छ ।