राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले कृषिदेखि उच्च शिक्षासम्मका महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन् ।
शुक्रबार निर्वाचन क्षेत्रअन्तर्गत बहुदरमाई नगरपालिका–४को डकैला बहुआरी टोलमा घरदैलो कार्यक्रम गर्दै उनले स्थानीयसँग प्रत्यक्ष संवाद गरेका थिए । घरदैलोका क्रममा बोल्दै कानुले कृषकहरूलाई समयमै मल र खाद उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । उनले मल अभावका कारण बर्सेनि कृषकले ठूलो नोक्सानी व्यहोर्नुपरेको उल्लेख गर्दै उनले आफू निर्वाचित भएपछि आपूर्ति व्यवस्थालाई व्यवस्थित गर्ने बताएका हुन् ।
उनले “कृषकहरूको पीडा मलाई राम्रोसँग थाहा छ । तरकारी खेतीका लागि आवश्यक मल समयमै उपलब्ध गराउने, उत्पादन सुरक्षित राख्न शीत भण्डार (कोल्ड स्टोर) निर्माण गर्ने र बजारसम्म सहज पहुँच पुर्याउने व्यवस्था मिलाइने,” बताएका थिए ।

मधेस विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्ने योजना
यसैगरी उनले उच्च शिक्षाका लागि जिल्ला वा देश बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्न स्थानीय स्तर मै अवसर सिर्जना गरिने दिर्घकालिन याेजना सुनाएका थिए । पर्सामा सञ्चालनमा रहेको मधेस विश्वविद्यालयलाई पाँच वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्थाको रूपमा विकास गर्ने योजना रहेको उनले बताएका थिए ।
“पर्सालाई उच्च शिक्षाको केन्द्र बनाउने गरी मधेस विश्वविद्यालयलाई गुणस्तरीय पूर्वाधार, दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्तरोन्नति गरिने उनले याेजना सुनाएका थिए ।,”
खेलकुद पूर्वाधारमा जोड
कानुले खेलकुद विकासलाई पनि प्राथमिकतामा राख्दै नारायणी रंगशालाको स्तरोन्नति गरिने बताएका छन् । यसका साथै उनले बहुदरमाई नगरपालिका क्षेत्रमा राष्ट्रिय स्तरको खेल आयोजना गर्न मिल्ने नयाँ रंगशाला निर्माणको प्रक्रिया अघि बढाइने याेजना रहेकाे बताएका छन् ।
यसैगरी उनले जिल्लाको प्रमुख समस्या बेरोजगारी भएको बताउँदै उनले उद्यमशीलता विकास, सीपमूलक तालिम तथा स्वरोजगार कार्यक्रम सञ्चालनमार्फत रोजगारीका अवसर सृजना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले विगतमा निर्वाचित प्रतिनिधिहरूले आश्वासन मात्र बाँडेको गुनासो गर्दै यसपटक नयाँ सोच र भिजन भएका उम्मेदवारलाई समर्थन गर्ने बताउँदै आएका छन् ।
घरदैलाे कार्यक्रममा रास्वपाका स्थानीय नेता–कार्यकर्ता, बुद्धिजीवी तथा विभिन्न पेशासँग आबद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो ।