नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले शुक्रबार घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ अन्तर्गत लक्ष्मणवा र भेडीयाही टोलमा आयोजित कार्यक्रममा उनले सूर्य चुनाव चिन्हमा मत दिन आग्रह गर्दै आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका थिए । घरदैलोका क्रममा यादवले पर्साको समग्र विकास, समृद्धि तथा जनताको जीवनस्तर उकास्ने स्पष्ट भिजन र क्षमता आफूसँग रहेको दाबी गरे ।
“काम गरेर प्रमाणित भइसकेको नेतृत्वलाई मत दिनुहोस्, बहरूपियाहरूको पहिचान गर्नुहोस् र सूर्य चिन्हमा मतदान गर्नुहोस्,” उनले आग्रह गरे । पूर्व मन्त्रीसमेत रहेका यादवले आफ्ना प्रतिद्वन्द्वीहरूलाई अराजनीतिक व्यक्तित्व भएको आरोप लगाउँदै चुनावका बेला मात्र जनतामाझ आएर ठूला आश्वासन बाँड्नेहरूबाट सचेत रहन मतदातालाई आग्रह गरे ।
उनले पर्सा–१ का हरेक समस्या आफूलाई राम्ररी थाहा भएको उल्लेख गर्दै विगतमा दुई पटक सांसद निर्वाचित भएर अधिकांश समस्याहरू समाधान गरेको दाबी गरे । “आगामी निर्वाचनमा विजयी भए बाँकी रहेका थप समस्याहरू पनि समाधान गर्छु,” यादवले भने । यादवले आफ्नो कार्यकालमा जिल्लाका विभिन्न स्थानमा सडक निर्माण, विद्यालय तथा अस्पताल भवन निर्माण, मन्दिर, मस्जिद, धर्मशाला तथा मसान घाट निर्माण गराएको दाबी गरे ।
खानेपानी समस्यालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले भने, “आकाल पर्दा एक साताभित्र विभिन्न स्थानमा बोरिङ जडान गरी तत्काल समस्या समाधान गरियो । दीर्घकालीन समाधानका लागि अर्बौँ रुपैयाँका परियोजना ल्याइएको छ ।” त्यस्तै, संसद्मा जिल्लावासीको आवाज उठाउँदै पटक–पटक पर्साका मुद्दाहरू उठाएको पनि उनले बताए ।
कार्यक्रममा स्थानीयवासीले फूलमाला लगाएर यादवलाई स्वागत गरेका थिए । जनताले आफ्ना समस्या राखेका थिए भने यादवले ती समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।