उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगंज महानगरपालिका वडा नम्बर २१ अन्तर्गत परवानीपुर, ताजपुर, कोइरिया र ततवा टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रमका क्रममा स्थानीयवासी तथा युवाहरूले उम्मेदवार सिंहलाई फूलमाला र खादा लगाएर भव्य स्वागत र सम्मान व्यक्त गरेका थिए। घरदैलोमा स्थानीयहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
स्थानीयवासीको गुनासो र अपेक्षा
भेटघाटमा स्थानीयवासी तथा युवाहरूले विगतका राजनीतिक दल र उम्मेदवारहरूले चुनावको समयमा मात्र आश्वासन बाँडेको तर विकास निर्माण र रोजगारी सिर्जनामा ठोस उपलब्धि हासिल गर्न नसकेको गुनासो व्यक्त गरेका थिए ।
युवाहरूलाई चुनाव नजिकिँदा मात्र प्रयोग गर्ने र निर्वाचनपछि जनतासँग सम्पर्कविहीन हुने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्दै सक्षम र नयाँ उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता स्थानीयहरूले जनाएका थिए ।
स्थानीयहरूले कुलमान घिसिङलाई काम गर्ने नेतृत्वको रूपमा प्रशंसा गर्दै उम्मेदवार सिंहप्रति समर्थन व्यक्त गरेका थिए ।
विकास र रोजगारी योजनाहरू
उम्मेदवार सिंहले स्थानीयवासीहरूको समस्या निर्वाचित भएलगत्तै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै गाउँ–गाउँमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर विकास कार्यक्रम अघि बढाउने योजना सुनाए ।
साथै, स्थानीय स्तरमै कलकारखाना स्थापना गरी योग्य तथा सक्षम व्यक्तिहरूलाई रोजगारी प्रदान गर्ने योजना रहेको जानकारी दिएका छन् ।
उहाँले वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा निर्वाचित भएर प्राप्त अनुभवलाई संघीय संसदसम्म पुर्याई क्षेत्रको समग्र विकासका लागि प्रभावकारी आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई विजयको अग्रिम शुभकामना व्यक्त गर्दै आगामी निर्वाचनमा पूर्ण समर्थन रहने विश्वास व्यक्त गरेका थिए ।