रामकिशोर सिंह (पराग)ले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारका रूपमा उज्यालो नेपाल पार्टीको तर्फबाट वीरगंज महानगरपालिका वडा नम्बर–२२ जगरनाथपुरमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ ।
घरदैलो अभियानका क्रममा जेन–जेड युवा तथा स्थानीय बासिन्दाहरूले उम्मेदवार सिंहलाई फूलमाला लगाई भव्य स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रममा उहाँले घर–घरमा पुगेर स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै गाउँ–टोलका विविध समस्या र जनगुनासाहरू सुन्नुका साथै समाधानका लागि स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले विशेषगरी युवाहरूका लागि रोजगारीका अवसर सिर्जना, गुणस्तरीय शिक्षाको पहुँच विस्तार तथा सहज र सुलभ स्वास्थ्य सेवाको व्यवस्था आफ्नो प्रमुख प्राथमिकतामा रहने बताउनुभयो । “युवालाई देशमै अवसर दिन सके मात्र समृद्ध समाज निर्माण सम्भव हुन्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले उम्मेदवार सिंहप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा विजयको अग्रिम शुभकामना दिएका थिए । साथै, उम्मेदवारको योग्यता, दृष्टिकोण र कार्यक्षमता मूल्याङ्कन गरेर मात्र मतदान गर्नुपर्ने धारणा पनि व्यक्त गरिएको थियो ।
उत्साहपूर्ण सहभागिताका बीच सम्पन्न उक्त घरदैलो कार्यक्रमले जगरनाथपुर क्षेत्रमा उज्यालो नेपाल पार्टीप्रति बढ्दो जनसमर्थन देखिएको सहभागीहरूले बताएका छन् । निर्वाचन मिति नजिकिँदै जाँदा क्षेत्रका विभिन्न स्थानमा यस्ता कार्यक्रमहरू थप तीव्र बन्दै गइरहेका छन् ।