चन्द्रपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नो गृहनगर रौतहट क्षेत्र नम्बर–१ अन्तर्गत गढीमाई नगरपालिका–८ स्थित बिनग्रा माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मतदान गर्दै मुख्यमन्त्री यादवले योग्य जनप्रतिनिधि चयनका लागि मताधिकार प्रयोग गर्ने अवसर नगुमाउन आम मतदातासँग आग्रह गर्नुभयो ।
उहाँले सहज, सुरक्षित तथा विवेकपूर्ण ढङ्गले मतदान गर्दै देशको भविष्य निर्माणमा योगदान पुर्याउन मतदातालाई अपिल गर्नुभयो ।
यसैबीच, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा रहेका ५४१ वटा मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको जानकारी दिनुभएको छ ।
उनका अनुसार मतदानलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ ।