सिराहा । सिराहा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज भइरहेको मतदानमा दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मतदान सम्पन्न भएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरू उत्साहपूर्वक सहभागी भइरहेको जिल्ला निर्वाचन कार्यालय सिराहाले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय सिराहाका प्रमुख राजन श्रीवास्तवका अनुसार दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत हाराहारी मतदान भइसकेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सिराहाका अनुसार जिल्लाका चार निर्वाचन क्षेत्रअन्तर्गत २२३ स्थायी र एक अस्थायी गरी २२४ मतदानस्थलमा ५३१ स्थायी र तीन अस्थायी गरी ५३४ मतदान केन्द्र स्थापना गरिएको छ ।
निर्वाचनका लागि जिल्लाभर ५३४ मतदान अधिकृत खटिएका छन्। प्रत्येक स्थायी मतदान केन्द्रमा तीन–तीन जना सहयोगीसहित कुल चार हजार ७९४ कर्मचारी परिचालन गरिएको जनाइएको छ ।
जिल्लाका चार निर्वाचन क्षेत्रमा राजनीतिक दलका ५४ जना र स्वतन्त्र ८४ जना गरी कुल १३८ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
मतदातातर्फ दुई लाख ४१ हजार ६१५ पुरुष, दुई लाख १२ हजार २८ महिला र दुई जना अन्य गरी कुल चार लाख ५३ हजार ६४५ मतदाता रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार चारवटै निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदान शान्तिपूर्ण रूपमा भइरहेको जनाइएको छ ।